सूचनाको शक्ति - The Power Of Information

        

पूर्व राजपरिवारबाट विद्यार्थीलाई सहयोग

बाँके । पूर्व राजपरिवारका सदस्यहरुले नेपालगन्जमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन् ।

हिमानी कोषको आयोजनामा शनिबार नेपालगन्जमा भएको कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र पूर्वशाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाका अनुसार नगरको हनुमान प्राथमिक विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभूत विद्यालयका ६०० विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल सहयोग गरेको हो ।

हिमानी कोषले यसअघि पनि नेपालगन्जमा सिलाइकटाइ तालिम लिएका महिलालाई मेसिन सहयोग गरेको थियो । अहिले फेरि आधारभूत विद्यालयका विद्यार्थीको स्वास्थ्यलाई विचार गर्दै बोतल सहयोग गरेको राजपरिवारका सदस्यहरुले बताएका छन् ।

हिमानी कोषले पानीजन्य रोग न्यूनीकरणका लागि स्वतः प्रशोधन हुने बोतल ससाना विद्यार्थीलाई सहयोग गरिएको राणाले बताए । ‘बोतलमा पानी आफै फिल्टर हुन्छ,’ हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौलाले भने, ‘यसबाट विद्यार्थीमा नियमित पानी पिउने बानीको विकास हुन्छ, प्रशोधित पानी हुने भएकाले शरीर पनि स्वस्थ रहन्छ ।’

हिमानी कोषले पाइलट परियोजनाको रुपमा एक हजार २०० विद्यार्थीलाई यसखालको बोतल हस्तान्तरण गर्ने जनाएको छ । कोषले पूर्व वडामहामानी कोमल राज्यलक्ष्मीदेवी शाहको ७१ औं जन्मदिनको अवसर पारेर नेपालगन्जमा ६०० जना विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १६:४२