सूचनाको शक्ति - The Power Of Information

        

स्तरोन्नति नहुँदा सास्ती

नाम मात्रको ‘कर्णाली लोकमार्ग’

जुम्ला । लामो समयसम्म कर्णाली लोकमार्ग विस्तार नहुँदा समस्या हुँदै आएको छ । २०६३ सालमा जुम्लासम्म निर्माण गरिएको उक्त लोकमार्गका अधिकांश ठाउँमा सडक साँघुरो हुँदा सवारीसाधन वारपार गर्न पनि कठिन छ ।

यसका कारणले दुर्घटनासमेत हुने गरेको छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले कर्णालीको भाग्यरेखाका रूपमा रहेको कर्णाली लोकमार्गको स्तरोन्नति नहुँदा सास्ती भोग्नुपरेको बताए ।

गाडीहरू भीरमा ठोक्किने, ब्याक गर्दा कर्णालीमा खसेर दुर्घटनामा पर्ने तथा यात्रुलाई पनि ढिलो हुने बताउँछन् । सडक बनेदेखि अहिलेसम्म स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनको गुनासो छ ।

साँघुरो सडकमा बाध्य भएर गाडीहरू गुडाउनु परेको चालकहरूको गुनासो छ । यात्रु पनि जोखिमको यात्रा गर्न बाध्य छन् । पाँच वर्षदेखि कर्णाली लोकमार्गमा गाडी चलाउँदै आएका चालक प्रेम गुरुङले कर्णाली लोकमार्गको धेरै स्थानमा साना गाडी नै पास नहुने बताए ।

उनले ठूला गाडी वारपार गर्न करिब आधा किलोमिटर ब्याक गर्नुपर्ने अवस्थाका कारण यात्रा जोखिमपूर्ण रहेको उल्लेख गरे । सरकारले यति धेरै जोखिमपूर्ण लोकमार्ग विस्तार गराउन कुनै कदम नचालेको गुनासो उनको छ ।

सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडकका कैयौं स्थान जोखिमपूर्ण छन् । लोकमार्गमा ठूला सवारी तथा मालवाहक गाडीमात्र होइन, साना गाडीसमेत पास हुन सक्ने अवस्था छैन ।

सबैभन्दा बढी दैलेखको खिड्कीज्यूलादेखि सेरीघाटसम्मको भाग साँघुरो छ । कालिकोटदेखि नाग्मसम्मको भाग पनि निकै साँघुरो हुँदा दुर्घटनाको जोखिम छ । सडक साँघुरो हुँदा गाडीहरू कुनै–कुनै बेला भीरमा ठोक्किने गरेको चालकहरू बताउँछन् ।

डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर तथा सूचना अधिकारी सन्तोष भण्डारी कर्णाली लोकमार्ग दुईलेन गर्न विशेष बजेटसहितको आयोजना आवश्यक भएको बताउँछन् । उनले नाग्मदेखि रारासम्म ९४ किलोमिटर, पिली खण्ड र मान्मदेखि सेरीघाटसम्म केही चाक्लो बनाउन सुरु गरिएको बताए ।

दैलेख खण्डमा पनि सानातिना योजनाबाट सडक चाक्लो बनाउने कार्य भइरहेको भण्डारीले उल्लेख गरे । कर्णालीको जीवनरेखाका रूपमा रहेको कर्णाली लोकमार्गलाई स्तरवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १६:३३