सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट कारागार : क्षमता १५ जना, कैदीबन्दी ५९ जना

जाजरकोट । जिल्ला कारागारमा क्षमताभन्दा चार गुणा वढी कैदी बन्दी राख्दा बन्दीहरुलाई समस्या परेको छ । कारागार क्षमता १५ जनाको भए तापनि हाल ५९ जना राख्नुपरेको कारागार प्रशासनले जनाएको छ ।

कारागार कार्यालय जाजरकोटका जेलर तेजविक्रम शाहले हाल कारागारमा ५९ जना बन्दीलाई राख्नुपर्ने वाध्यता भएको बताए । भौतिक पूर्वाधार अभावमा ठुूलो संख्यामा कैदीवन्दि राख्नुपर्ने वाध्यता भएको जेलर शाहको भनाई छ ।

कारागारको भौतिक पूर्वाधार निर्माणमा सरोकारवालाले कुनै चासो नदिएको कार्यालयको गुनासो गर्दै आएको छ । हालै कारागारबाट मुक्त भएका कैदीबन्दीहरुले सुत्ने कोठाको साथै खानेपानी, शौचालय, खेलमैदान र खेल सामग्रीको समेत अभाव भएको गुनासो गरेका थिए ।

खुला कारागारको अवधारणा आइसकेको अवस्थामा जाजरकोट कारागार पशु बाँध्ने गोठसरह बस्नुपर्ने वाध्यता भएको बन्दीहरुको गुनासो छ । जीर्ण भौतिक संरचना र क्षमताभन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्न सुरक्षा चुनौतिसमेत रहेको जेलर शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु रहेको भए पनि आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा समस्या आएको बताए । आफुले सम्वन्धित निकायमा जानकारी गराइसकेको बताउँदै जिल्ला कारागारमा महिला बन्दी राख्ने व्यवस्था नहुँदा महिला कैदीबन्दीलाई बाहिरी जिल्ला पठाउने गरेको कार्यालय प्रमुख शाहले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ११:२७