सूचनाको शक्ति - The Power Of Information

        

सरकार रमिते

खानेतेलको मूल्य बढ्यो, एक महिनामै प्रतिलिटर ४० रुपैयाँसम्म वृद्धि

अस्वाभाविक मूल्य बढाउने उद्योगको विवरण मागेर अध्ययन गर्दै विभाग

काठमाडौं । पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँसम्म बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपैयाँसम्म बढेको छ ।

भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ । सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपैयाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपैयाँ बढेर ३७० रुपैयाँ पुगेको छ ।

यस्तै भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपैयाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको)को ३४५ रुपैयाँ पुगेको छ । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्यो भन्दै तेल उद्योगीले अनावश्यक मूल्य बढाउँदा सरकार रमिते बनेको आरोप लगाए ।

‘अहिले तेलको मूल्य कार्टोनमा १०० देखि १५० रुपैयाँसम्म बढेको छ । अहिले उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको मूल्य बढेको छ । बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन बन्दासमेत सरकारले ध्यान दिएको छैन । सरकार नै मूल्य बढाउने पक्षमा भएकोजस्तो देखिन्छ,’ उनले भने ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको अस्वाभाविक मूल्य बढाउने उद्योगको विवरण मागेर अध्ययन सुरु गरेको छ । पछिल्लो पटक खाने तेलको अस्वाभाविक मूल्य बढेको गुनासो आएपछि विभागले उद्योगीसँग विवरणमा माग गरेर अध्ययन थालेको जनाएको छ ।

विभागका निर्देशक हरि पङ्गेनीले खाने तेलको मूल्य बढेको धेरै गुनासो आएपछि केही उद्योगको अध्ययन गर्दा ३–४ प्रतिशत मूल्य बढेको देखिएको बताए । अस्वाभाविक मूल्य देखिएको अवस्थामा उद्योगसँग थप विवरण माग गरेर विभागले अध्ययन गर्दै गरेको उनले बताए । निर्देशक पङ्गेनीका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेपछि अधिकांश उद्योगीले खाने तेलको मूल्य बढाउने गरेका छन् ।

उनले भने, ‘अध्ययनमा चित्तबुझ्दो देखिएन भने पुनः विवरण माग गर्छौं । त्यति गर्दा पनि चित्तबुझ्दो भएन भने कानुनअनुसार अगाडि बढ्छौँ ।’ विभागले माघको अन्तिमतिर तेल उद्योगीसँग छलफल गरी तेलको मूल्य बढ्नुको कारणसहित तीन दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको थियो ।

विभागले देशभर रहेका तेल उत्पादन गर्दै आएका १८ वटा उद्योगलाई पत्राचार गरेकामा अधिकांशको विवरण आएको जनाएको छ । ‘गलत नियतले एकै रुपियाँ पनि ठगी गरेको छ भने त्यस्ता उद्योगी कसुरअनुसार कारबाहीको भागिदार हुनैपर्छ,’ उनले थने । उनले विवरण बुझाउन अटेर गर्ने व्यापारीले असहयोग गरेमा कारबाही हुने बताए ।

नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार २०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ र तेलको मूल्य २१ दशमलव २२ प्रतिशत बढेको छ । उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशीबाट ल्याउनुपर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनु परेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ११:१६