सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ६ महिनामै ४४ जना नयाँ कुष्ठरोगी

बाँके । बाँकेमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै थप ४४ जना कुष्ठरोगी फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो ६ महिनामा ४४ नयाँ कुष्ठ रोगी फेला परेका स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।

सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालगन्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् । गत आवमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि बाँकेमा भने अहिले पनि कुष्ठरोगको उच्च जोखिम छ ।

कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन नेपालीले सबैलाई आग्रह गरे । कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ ।

प्रति १० हजारमा एकजनाभन्दा कममा कुष्ठ रोग भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएको छ । बाँकेको जानकी–३ मानपुरमा रेफरल अस्पतालका रूपमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ ।

अस्पतालमा चालु आवको छ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए । तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय बिरामी हुन् ।

भारतसँगको खुला सीमानाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसङ्ख्या पनि धेरै हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या बाँकेमा बढी देखिएको हुनसक्ने थारूको भनाइ छ ।

कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदान नै निवारणको पहिलो उपाय भएको जनाउँदै उनले कुष्ठरोगको उपचार निःशुल्क हुने भएकाले त्यस्ता बिरामीलाई सम्पर्कमा आउन आग्रह पनि गरे ।

कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर समयमै उपचार गरे शरीर अङ्गभङ्ग हुनबाट जोगिन सकिन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १०:३८