सूचनाको शक्ति - The Power Of Information

        

धिताेपत्र बाेर्डकाे अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले धनगढी घर भएका हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो ।

तीन जनामध्येबाट सरकारले हमाललाई नियुक्त गरेको हो ।  डोटीको सिलगढीमा जन्मनुभएका हमालले एसिएन इस्टिच्युट अफ टेक्नोलोजी बैंककबाट एमबीए गर्नुभएको छ ।

झन्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गर्नुभएका हमालले २० वर्ष त व्यवस्थापन क्षेत्रमा नै काम गर्नुभएको छ । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डकाे अध्यक्ष बन्नुभएका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बन्नुभएको थियो ।

सर्वोत्तम सिमेन्टकाे आईपीओमा चलखेल गरेर आफ्नो शेयर लगानी गरेर विवादमा आएका भीष्मकुमार ढुंगानालाई सरकारले हटाएपछि चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्षविहीन थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १८:४७