काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने तयारी गरेसँगै देशभर प्रदर्शन चर्किएको छ । नेत्रविक्रम चन्द विप्लवसहितका ६ दलले नेपाल बन्द आह्वान गरेको दिन बुधबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितले प्रदर्शन गरे ।
प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भयो । त्यसक्रममा निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन दक्षिण गेटसम्म पुगे । प्रदर्शनकारीलाई रोक्न तैनाथ प्रहरीले निषेधित क्षेत्रतिर आउन नदिन पानीको फोहरादेखि अश्रुग्याससम्मको प्रयोग गरे । प्रहरी धरपकडमा उत्रिएपछि प्रदर्शनकारी पनि जाइ लागे ।
त्यसक्रममा प्रदर्शनकारीले इँटा र ढुंगासहितले प्रहरीलाई जवाफ फर्काए । प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा नयाँ बानेश्वर क्षेत्र रण मैदान जस्तै देखिएको छ । अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ । बुधबारै सत्तारुढ पाँच दलबीच सहमति नभएपछि सरकारले एमसीसीलाई संसदमा लैजाने निर्णय गरे । कानुनमन्त्री दिलेन्द्र बडुले शुक्रबारको संसदमा एमसीसी पेश गर्ने बताएका छन् ।





।