सूचनाको शक्ति - The Power Of Information

        

१२ वर्ष विदेश बसे, गाउँ फर्केर तरकारी खेती थाले

विदेशबाट फर्किएर तरकारी खेतीमा ब्यस्त चूडामणि छन्त्याल ।

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिएका छन् । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गरेका उनले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गरेका थिए ।

अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएका छन् । खर्च अभावले विदेशिएका उनले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्छन् । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लास्टिक घरमा तरकारी खेती गरेका ४८ वर्षीय उनका बारीमा पाँच प्लास्टिक घर छन् ।

खुला आकासमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । ‘पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो’, उनले भने, ‘अहिले गाउँका अरु दाजुभाइले पनि प्लास्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उहाँहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।’ उनका दुई प्लास्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ ।

मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाएका उनले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु’, उनले भने, ‘नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्छ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।’

उनले गोलभेँडा पनि प्रतिकिलो रु ७० देखि रु १२ सम्म बिक्री गर्थे । अहिले गाउँका अरु किसानले पनि त्यसै गर्छन् । ‘उहाँको सिको गरेर धेरैलाई राम्रो भएको छ,’ स्थानीय युवा ढालेन्द्र छन्त्याल भन्छन्, ‘अहिले त गाउँभरि टनेल छन्, धेरै थोरै सबैले कमाउँछन् ।’ तमानखोला गाउँपालिका, कृषि ज्ञानकेन्द्र र मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमले गाउँलेलाई सघाएको छ ।

रु १२ लाख लगानीमा सुरुआत गरेको तरकारी फार्मबाट छन्त्यालले मासिक रु ३५ हजार आम्दानी गर्छन् । गाउँमा पुग्ने पाहुना उनकै घरमा बस्छन् । जौ, गहुँ, कोदो र मकै मात्रै फल्ने बारीमा फलाएका तरकारी उनले पाहुनालाई चखाउँछन् र आफ्नो मूल्य लिन्छन् । छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् ।

विदेशको कमाइले काठमाडौँमा उनको घर छ । दुई भाइ छोरा युरोप र अस्ट्रलियाका नाम चलेका कलेजमा पढ्छन् । तर सहरको सुख छार उनी मात्रै होइन, उनको परिवार पनि कृषिमा लागेको छन् । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् । ‘उहाँ चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ,’ इन्द्रकुमारीले भनिन्, ‘हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।’

अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी–भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमुना कृषि गाउँ घोषणा गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १८:०६