सूचनाको शक्ति - The Power Of Information

        

नेष्डो समृद्ध लघुवित्तको आईपीओ यहि फागुन ११ गतेदेखि

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ।

हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात् २५ करोड ५० लाख पुग्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:४७