सूचनाको शक्ति - The Power Of Information

        

सिँचाइ समृद्धि

सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माण ६५ प्रतिशत पूरा

बाँके । बाँकेका किसानका लागि सबैभन्दा बढी महत्वको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल अगैयादेखि पूर्वी क्षेत्रको ५३ किलोमिटरको पूर्वी शाखा नहर निर्माणको कार्य ६५ प्रतिशत पूरा भएको छ ।

पूर्वी नहरको ५३ किलोमिटर क्षेत्रमध्ये ३८ किलोमिटर क्षेत्रसम्म नहरका स्ट्रक्चरहरू निर्माण भइसकेको र नहर फिनिसिङको काम भइरहेको सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले बताए ।

उनले सो शाखा नहरलाई अगैयादेखि विनौना, बैजापुर, फत्तेपुर हुँदै नरैनापुरसम्म पुर्याउने योजना रहेको बताए । आयोजनाका निर्देशक कैनीका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म पूर्वी नहरमा राप्ती नदीको पानी छाडेर पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने लक्ष्य आयोजनाको छ ।

तर बाँकी १५ किलोमिटर मूल नहरमा विभिन्न चुनौती देखिएकाले सो चुनौती पन्छाएर निर्माण प्रक्रियालाई अगाडि बढाउने कार्य भइहेको उनले बताए । उनले बाँकी रहेको १५ किलोमिटर नहर निर्माणको रेखाङ्कन गर्ने कार्य चालू आर्थिक वर्षमा नै सम्पन्न गरेर जग्गा अधिकरण र मुआब्जाको समस्या पनि समाधान गरिने बताए ।

त्यसका लागि तयारी चलिररहेको जनाउँदै निर्देशक कैनीले यसै वर्षको असार मसान्तसम्म टेन्डर गरेर बाँकी नहर निर्माणलाई पनि अघि बढाउने तयारीमा आफूहरू लागेको बताए । सधैं आकाशे पानीको भरमा खेती गर्दै आएका सो क्षेत्रका किसानले आफ्नो खेतबारी नजिक नहर पुग्दै गरेको देखेपछि नहरको पानीको उपयोगपछि उत्पादन बढ्नेमा निकै आशावादी देखिएका छन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले सिक्टाको पूर्वी नहरले यस क्षेत्रको कृषिमा क्रान्ति नै ल्याउने अपेक्षा गरिएकाले अधिकांश किसानले छिटो नहरमा पानी बगेको देख्न चाहेको बताए । नहर निर्माण भएर पानी बगेपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १२ हजार २७५ घरका किसानको नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको छ ।

यसअघि नै मुख्य बाँधस्थल अगैयाबाट ४५.३ किलोमिटर पश्चिमी मुख्य नहरको निर्माण पूरा गरेर सो नहरमा पानी छोडिएको छ । उक्त नहरबाट करिब ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा हालसम्म १५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०९:०४