सूचनाको शक्ति - The Power Of Information

        

सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित

सल्यान । सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ ।

थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

वागचौर नगरपालिका ८ का किसान भरतनाथ योगीले सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुकेको बताए । उनकाअनुसार एक हजारभन्दा बढी सुन्तलाको बोट लगाए पनि रोगका कारण १०० बढी बोट मरेका छन् ।

कोटमौला क्षेत्रका २५० किसानले ब्यवसायिक सुन्तलाखेती गरेका छन् । सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग रोग देखापरेको छ । किसान अंगेश्वर डाँगीले रोग छिटो फैलिने हुँदा उत्पादन यो वर्ष सुन्तला उत्पादनमा समेत कमी आएको बताए ।

उनकाअनुसार यसअघिका वर्ष कोटमौला क्षेत्रबाट २० करोड वढीको सुन्तला जिल्ला वाहिर निकासी भए पनि यो वर्ष १४ करोड रुपैयाँ वरावरको निर्यात भएको छ । किसान प्रकाश डाँगीले हाँगाबाट सुक्दै जाने, जरा कुहिने, फल पनि राम्रो नहुने भएका कारण सुन्तला उत्पादन घट्न थालेको बताए ।

उनकाअनुसार जति उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन सकेको छैन । कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले किसानको सुन्तला वगैचामा सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोग देखा परेको बताए ।

बगैँचामा रोगले आक्रमण गर्दा वर्षेनी सुन्तलाको उत्पादनमा समेत गिरावट आइरहेको उनले बताए । यो समस्या सल्यानको मात्र नभएर देशभर सुन्तलामा यस प्रकारको समस्या देखिएको कृषकहरुको भनाई छ ।

रोग न्यूकिरण गर्न चालु आर्थिक वर्षमा कोटमौला सुन्तला वगैचामा वगैचा सुधार, औषधी आदिको प्रयोग गरिने समेत वस्नेतको भनाई छ । जिल्लामा ९०० किसानले १ हजार ५०० हेक्टर बढीमा व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गत वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्क छ ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारीले गत वर्ष ७ हजार ४८३ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ हजार ८८५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको बताए । जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका लगायत स्थानलाई सुन्तला पकेट क्षेत्र मानिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०८:१४