सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् साहित्यकार तारानाथ शर्मा

काठमाडौं । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा.तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेल लगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।

‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १०० भन्दा बढी पुस्तक प्रकाशित छन् । शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए ।

शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो । लामो समयदेखि डिमेन्सिया (विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।

भतिजा दीपेन्द्रनाथ शर्माका अनुसार, मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा.जगमान गुरुङले जानकारी दिए ।

उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए । शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १२:४३