– वसन्त शर्मा
वादशाह कुर्मी, निरञ्जन सिंह सिजापति, सुरेन्द्र हमाल, नारायण प्रसाद गौंडेल लगायतका अनुहार नेतृत्वको चर्चामा छन् । अरु केही चेहेरा पनि आकाङ्क्षी छन् भन्ने सुनिन्छ । तर नारायण प्रसाद गौंडेल र वादशाह कुर्मी अनि निरञ्जन सिंह सिजापति नेता तथा कार्यकर्तामाझ तीव्र छलफल तथा भेटघाटमा रहेको बुझिन्छ ।
अरु आकाङ्क्षीहरु म उम्मेद्वार हुँ सम्म भन्न नसकिरहेको अवस्था छ । लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका हमालसहित सम्भावना रहेका अन्य उम्मेद्वारहरु पनि नभएका होइनन् । सुनिलनरसिंह राणा, लक्ष्मीनारायण शाह सभापतिका आकाङ्क्षी नै हुन् । कति त लगभग ढुकुर झैं ढुकेर बसेका देखिन्छन् ।
नेतृत्वमा पुग्ने उत्कट चाहना राख्नेहरुले ‘म उम्मेद्वार हुँ’ सम्म भन्न नसक्ने अवस्था छ बाँकेमा । राणाशासन, २०१७ देखि २०३६ सम्मको नेतृत्व फरक थियो । पञ्चायत काल सकिएसँगै बाँके कांग्रेस कार्यकर्ताहरु ‘पावर ओरियन्ट’ बाटोमा छन् । आफ्नो नेतृत्व क्षमता र केन्द्रसम्मको सम्बन्ध विस्तार गर्न नसक्नु बाँकेका कांग्रेसजनहरुको ‘गम्भीर समस्या’ देखिन्छ ।
बाँके कांग्रेसजनलाई माध्यम चाहिन्छ, त्यही माध्यम कुनै बखत उनीहरुमाथि नै हावी हुन्छ । पार्टी हाँक्ने ‘साध्य’ खोज्दै गर्दा ‘साधन’ नै भारी पर्छ बाँकेमा । खदिलो र द्रविलो इतिहास नभएको होइन बाँके काँग्रेसमा । तर शक्तिका ‘नुमाइन्दा’ बन्ने श्रृखंलाले संगठनको नेतृत्व गर्ने सम्भावना बोकेकाहरु उम्मेद्वारी घोषणासम्म गर्न अन्कनाइरहेका छन् । (लेखकको फेसबुक वालबाट)
।