सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति

सबै धर्मप्रति उच्च आस्था, ‘गाउँमै आपसी सद्भाव र सहिष्णुता’

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ । गाउँपालिकाकै संस्कृति, परम्परा धर्म अनि विभिन्न जातजाति र समुदाय मिलेर बनेको वडा हो । यहाँ हिन्दु, मुस्लिम र क्रिश्चियनहरुको मिश्रित बसोबास छ ।

जुन कुरा यस गाउँपालिकाको अन्य वडामा भने कमै रहेको छ । विभिन्न जातजाति, भाषा, धर्म मिश्रित समुदायको सहभागिताले वडाको समग्र विकासलाई सहज बनाएको छ भने एकअर्काको धर्मबारे नयाँ पुस्ताले प्रत्यक्षरुपमा अध्ययन गर्ने अवसरसमेत पाउँछ ।

यस्तै यसले पालिकामा पनि अन्य वडाभन्दा यहाँ यस्तो खालको जातजाति, भाषा धर्मका व्यक्तिहरुको बसोबार रहेको भन्ने तथ्यांकमा समेत समेटिन्छ । वडामा सबै धर्म समुदायसँगै उनीहरुले मान्ने धर्म अनुसारका मठ, मन्दिर, चर्च र मस्जिद समेत यस वडामा छन् ।

जहाँ आ–आफ्नै तरिकाले व्यक्तिहरुले आस्था र श्रद्धाका साथ पुजापाठ, प्रवचनजस्ता कार्यहरु पनि गर्दै आएका छन् । सबै धर्मका समुदायको उपस्थिति भए पनि हिन्दुहरुको बाहुल्यता छ ।

यस वडामा रहेका बिभिन्न गाउँहरु गरी हिन्दुहरुले पुजापाठ, भगवानप्रतिको आस्था, प्राथना गर्ने करिब ११ वटा मठ मन्दिर छन् । यसमध्ये दुई स्थानमा रहेका मन्दिर बिशेष छन् ।

ती मन्दिरहरुमा वर्षमा मेला लाग्ने गरेको छ । यस वडाको नन्कौपुरमा अवस्थित पोखराथान र मरिथान मन्दिरमा वर्षको एक पटक बिशेष प्रकारको मेला लाग्ने गरेको स्थानीय बताउँछन् ।

यस अवसरमा भक्तजनहरुले भण्डारा खुवाउने, गर्नेजस्ता कार्यहरु गर्दै आएका छन् । आस्था र विश्वास सबै मन्दिरमा भए पनि यी दुई स्थानमा लाग्ने मेलाका असवरमा आयोजना गरिने भण्डारा भने भाकल पुरा भएकाहरुले गर्ने गरेको वडाध्यक्ष रामलखन थारुले बताए ।

‘राप्तीसोनारी गाउँपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिका तथा भारतीय सीमा क्षेत्रबाट आउने भक्तजनहरुले भण्डारा आयोजना गर्नुहुन्छ,’ वडाध्यक्ष थारुले भने, ‘जसले भाकल गरेको पुरा हुन्छ वा भाकल गर्ने बेला यस्तो भण्डारा (प्रसाद) खुवाउने गर्नुहन्छ ।’

यसका साथै यस वडाभित्रका तीन वटा गाउँमा मुस्लिम समुदायका लागि प्राथना गर्ने मस्जिद रहेका छन् । जहाँ मुस्लिम समुदायका व्यक्तिहरुले बिशेष प्रकारको (पुजा पाठ) नमाज लगायतका धार्मिक कार्यहरु गर्ने गर्छन् ।

यहाँको गेंदवा, झगडिया र पिप्रहवा गाउँमा मुस्लिम समुदायको मस्जिद अवस्थित छ । मुस्लिम समुदायले पनि नियमितरुपमा नमाज पढ्नेजस्ता कार्यहरु गर्छन् ।

यसैगरी यहाँ क्रिश्चियन समुदायको पनि उपस्थिति रहेकाले उनीहरुले समेत प्राथाना गर्ने बिशेष स्थानहरु रहेका छन् । क्रिश्चियन समुदायले प्राथना गर्ने चर्च यस वडाको सोनपुर, नालापारी सैयापुर र लालपुरमा रहेको छ ।

जहाँ क्रिश्चियन समुदायका व्यक्तिहरुले आफ्नो नियम, परम्परा अनुसार पुजा आजा (प्राथना) गर्ने गरेका छन् । यी सबै कुराहरुका आधारमा यो वडा सबै समुदायको साझा रहेको पनि बुझिन्छ ।

यहाँ एकअर्का समुदाय, जातजातिले बनाउने विषेश चाडपर्वका बेला सबैको सहभागिताले सामाजिक सद्भावलाई थप बलियो बनाएको पनि वडाध्यक्ष थारुले बताए । उनका अनुसार यहाँका मठमन्दिर, मस्जिद र चर्चलाई साझा धार्मिकस्थलका रुपमा लिने गरेका छन् ।

वडाध्यक्ष थारुले भने, ‘धार्मिक सहिष्णुताका रुपमा सबै धर्मका समुदायको उच्च आस्था छ । यसले सामाजिक सद्भावलाई अझै मजबुत र बलियो बनाएको छ ।’ यहाँ पुस्तौँदेखि नै यो सद्भाव र सहिष्णुता चल्दै आएको उनको भनाई छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०९:१०