सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : चार हजार १५७ विद्यालय छनोट

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय बैठकले देशभरका चार हजार १५७ विद्यालय छनोट गरेको हो ।

शिक्षामन्त्री पौडेलका अनुसार छनोट भएका सामुदायिक विद्यालयमध्ये चार कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रकम छुट्याइएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ ।

विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए । ‘देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्ने अभियानमा छौं,’मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं ।’ देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।

प्रस्ताव पठाउने सामुदायिक विद्यालयमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, ४ हजार २३५ विद्यालयले आइसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशलाई कति

देशभर प्रदेश एकमा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणको विवरण अनुसार प्रदेश १ मा १९८ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, ३४९ विद्यालयमा आइसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात वटा विद्यालय छनोट भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा चार कोठे भवन, १३७ विद्यालयलमा दुई कोठे भवन, आइसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन वटा विद्यालय छनोट भएका हुन् । यस्तै, मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा दुई कोठे भवन, २३५ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ५ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १४१ विद्यालयमा चार कोठे भवन, १७९ विद्यालयमा दुई कोठे भवन, २७० विद्यालयमा आइसीटी व्यवस्थापन, आठ विद्यालयमा प्राविधिक ल्याब र विद्यालयमा नयाँ प्राविधिकमा एक विद्यालय छनोट भएका छन् । भुकम्पबाट प्रभावित बागमति प्रदेशका जिल्लाहरुमा १४ जिल्लामा भवनका लागि बजेट नहालिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुरामणि पौडेलले जानकारी दिए ।

चितवनबाहेकका १४ जिल्लामा र मदरसा, गुरुकुल र भुम्पबाट नबनेका विद्यालयमा चार कोठे भवन २२ वटा, दुई कोठे भवन १२, आइसीटी ल्याब ४९१, प्राविधिक ल्याब १८ र नयाँ प्राविधिक विद्यालय स्थापना चार वटा छनोट भएका छन् । यस्तै, गण्डकीमा १३० विद्यालय चार कोठे, १२५ दुई कोठे, २५५ आइसीटी ल्याब, १३ प्राविधिक ल्याब छनोट भएका छन् । कर्णालीमा ११० विद्यालयमा चार कोठे भवन, १३८ मा दुई कोठे भवन, २२५ विद्यालयमा आइसीटी ल्याब, प्राविधिक ल्याब दुई र नयाँ प्राविधिक विद्यालय स्थापना दुई छनोट भएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०८:१७