बुटवल । लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र बिहान ११ बजे मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए । स्थापना दिवस मनाउनकै लागि प्रदेशका सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगिसकेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्णबहादुर घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने छ । लुम्बिनी प्रदेशसभाले १७ महिना अगाडि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा गरेको थियो । तर स्थायी राजधानीमा संरचना नहुँदा बुटवलबाटै प्रदेश सरकारले कामकाज सञ्चालन गर्दै आएको छ ।
दाङमा स्थायी संरचना नबनेसम्म प्रदेश मन्त्रालयहरु सार्न नहुने दबाव सत्तारुढ गठबन्धभित्रै छ । १७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
।