सूचनाको शक्ति - The Power Of Information

        

प्रतिवादका लागि एमालेद्वारा हस्ताक्षर संकलन

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि आक्रोशित भएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कुनै पनि बेला सभामुख र चार न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

यसका लागि एमालेले आफ्ना पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । सांसदबाट संकलन गरिएको हस्ताक्षर विगतमा संसद् पुनःस्थापना गर्न परामदेश आदेश दिएका चारजना न्यायाधीश र सभामुखप्रति लक्षित रहेको बताइएको छ ।

तर, प्रयोजन नखुलाएको भन्दै सांसदहरू भीम रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखित रूपमा नै असहमति राख्नुभएको थियो । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर आवश्यक पर्दा प्रयोग गर्ने गरी संकलन गरिएको बताउँदै पार्टीले घटनाक्रमको विश्लेषण गरेर मात्र निर्णय लिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘बैठकले भावी संघर्षका कार्यक्रम तय गर्न पार्टीको नेतृत्वलाई जिम्मेवारी दिएको छ । अब सभामुख एवं चार न्यायाधीशमाथि महाअभियोग लगाउने विषयमा अध्यक्ष ओलीसहितका नेताले निर्णय लिने भएका छन् ।’

नेपाल समाचारपत्र

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०७:४३