सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँपालिकाद्वारा ६ वटा कानुन पारित

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानुन पारित गरेको छ ।

गाउँपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १० औं गाउँसभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी, नमुना वन सम्बन्धी, भुमी सम्बन्धी, स्वास्थ्य तथा सरसफाई र सहकारी सम्बन्धी संशोधित ऐन सर्वसम्मतरुपमा पारित भएको हो ।

सभाका सदस्यहरुले ताली बजाएर उक्त कानुनहरु पारित गरेका थिए । सो क्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् १० औं गाउँसभाका सभाध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।

यस्तै गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

सभामा गाउँपालिकाका विधायन समितिका संयोजक गंगाराम थारुले प्रस्तुत विधेयकबारे आफ्नो धारणा राखेका थिए । यस्तै सभाका सदस्य महाबीर ओली, टिकाराम बस्नेत र धनी ओलीले सम्बोधन गरेका थिए । गत माघ २७ गते १० औं गाउँसभा सुरु भएको थियो । सभाको पहिलो बैठकमा प्रस्ताव गरिएका विधेयकका मस्यौदा अध्ययन गर्नका लागि सभासदहरुलाई समय दिइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार २०:३८