बाँके । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेका छन् । दलहरूले नेपालगन्ज उमहानगरपालिकामा चुनावी तयारी थालेका हुन् ।
दलहरूबाट उम्मेदवारको टुंगो लाग्न बाँकी नै छँदा विभिन्न दलका नेताहरू टिकट हत्याउन लबिङमा लागिसकेका छन् । यसपटक नेपालगन्जमा कोही आफ्नो विरासत जोगाउने कसरतमा छन् भने कोही विगतको हारलाई उल्ट्याउँदै जीत निकाल्ने गृहकार्यमा छन् ।
वर्तमान मेयर डा.धवलसम्शेर राणा अब दोहोरिने पक्षमा नरहेको उनी निकट स्रोतले बताएको छ । राप्रपाबाट मेयर जितेका राणा नदोहोरिने भएपछि उनको बिरासत कसले जोगाउने भन्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक गृहकार्य सुरु भएको छ ।
आन्तरिक गृहकार्यसँगै नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहना राप्रपाको तर्फबाट उम्मेदवार बन्ने ध्याउन्नमा छन् । उनी नेपालगन्जमा डा.धवलसम्शेर राणापछिका विकासप्रेमी वडाध्यक्षका रुपमा परिचित रहेकै कारण मेयर डा.राणाको विरासत जोगाउन सक्ने राप्रपाको दावी छ ।
आगामी निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिने गरी वडाध्यक्ष सफिकले पनि आन्तरिक तयारी सुरु गरिसकेका छन् । यद्यपी अहिले नै औपचारिक निर्णय भने भइसकेको छैन । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले पार्टीका साथीहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताउँछन् ।
उनले भने, ‘सफिकको विषयमा पार्टी सकारात्मक छ । यस विषयमा अहिले नै पार्टीभित्र छलफल भइसकेको छैन । छलफल गरेर अघि बढौंला ।’ राप्रपाकै नेतृत्वमा नेपालगन्जमा धेरै विकास निर्माणका कार्यहरु भएकोले अबको नेतृत्व पनि राप्रपाले नै गर्ने सहायक महामन्त्री देवकोटाको दावी छ ।
उनले राप्रपाले शुरू गरेका र अधुरै रहेका योजनाहरु सम्पन्न गर्नुपर्ने भएकोले त्यसको सफलताका लागि आगामी कार्यकालको नेतृत्व पनि राप्रपाले नै गर्ने उनको जिकिर छ । सहायक महामन्त्री देवकोटाले राप्रपाको नेतृत्वमा धेरै र उदाहरणीय कामहरु पनि सम्पन्न भएको दावी गरे ।
मेयरको उम्मेद्वारका लागि आन्तरिक तयारी थालेका मो.सफिक बेहनाले विगतको अनुभवबाट सिक्दै नयाँ रणनीतिका साथ उम्मेदवारी दिने बताउँछन् । उनले भने, ‘पार्टीले मलाई टिकट दिनेमा म विश्वस्त छु, मेरो तयारी स्वाभाविक रूपमै रहन्छ ।’
उपमहानगरको विकास गर्न विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ तयारीमा लागेको पनि उनले बताए । ‘२०७४ को निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएपछि धेरै राम्रा काम भएका छन्,’ उनले भने, ‘हामीले अझै धेरै गर्नुछ, त्यसैले पनि उम्मेद्वारी दिने मेरो तयारी हो ।’
गत निर्वाचनपछि नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व राप्रपाले गरेसँगै नेपालगन्जमा सोेंचेभन्दा धेरै विकास भएको वडाध्यक्ष बेहनाको दावी छ । बेहनाले भने, ‘मेयर धवलको नेतृत्वले अविकसित नेपालगन्ज विकसित भएको छ, त्यसैले पनि आगामी निर्वाचनमा हाम्रो जित सुनिश्चित छ ।’
कुराकानीका क्रममा बेहनाले सत्यपाटीलाई आफ्नो जितका आधार सुनाएउँदै भने, ‘मैले जित्ने आधार प्रशस्तै छ । सबैभन्दा पहिलो कुरा त स्थानीयस्तरमा विकासका काममा सहभागी छु । जनताका पक्षमा काम गरेको छु । प्रत्येक जनताको घरदैलो गएको छु र घरमा बसेको छु ।’
बेहनाले चुनाव जित्न गाह्रो नभएको बताउँदै वडा नम्बर ४ मा आफूले गरेका विकासका काम गरेकै कारण आफू मेयर पदमा जित्ने आधार रहेको दावी गर्छन् । अर्कातिर, आफ्नो जनसम्बन्ध राम्रो रहेकै कारण उनी मेयर पदमा जित्नेमा विश्वस्त छन् ।
‘२४ घण्टा जनताका पक्षमा र तिनका समस्या तथा आवश्यकतामा हिँडिराख्ने व्यक्ति भएकाले चुनाव जित्न त्यति धेरै गाह्रो छैन,’ उनले दावीका साथ सत्यपाटीसँग भने । सबै स्थानीय र पार्टीका नेता–कार्यकर्तासँग राम्रो सम्बन्ध रहेकाले समुदायस्तरमा भिज्न गाह्रो नरहेको उनको अनुभव छ ।
वडा नम्बर ४ मा वडाध्यक्षका रुपमा कार्य गर्दा उनको कामलाई नेपालगन्जबासीले नजिकबाट हेरेका छन् । नेपालगन्जकै विकासप्रेमी वडाध्यक्षका रुपमा परिचित बेहना विकासप्रेमी भएकै कारण आगामी निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचन जित्ने नेपालगन्जबासीहरु बताउँछन् ।
उनले निर्वाचन जितेपछि वर्तमान मेयर धवलको कार्यकालमा अधुरा रहेका कामहरुलाई प्राथमिकताका साथ पुरा गर्ने बताए । बेहनाले भने, ‘तर, चुनौतीमै सम्भावना पनि हुन्छ । दुई/चार कुरा पूरा गर्न सक्छु भन्नेमा म विश्वस्त छु । चुनौतीै सम्भावना खोज्नका लागि पनि मेरो उम्मेद्वारी रहन्छ ।’
।