सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

राप्तीपारिका गाउँमै कोरोनाविरुद्धको खोप

फाइल तस्वीर

बाँके । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।

राप्तीसोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टी लगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख देवेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए ।

भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँ गाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी–४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए । उनले नयाँ गाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका नागरिक समेत रहेको जानकारी दिए ।

बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ छन् । त्यहाँको पछिल्लो तथ्याङ्कानुसार १७० घरधुरीको बसोबास छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १४:१६