बाँके । बाँकेमा झण्डै ४२ हजार मतदाता थपिएका छन् । निर्वाचन घोषणा हुनुअघि माघ २४ गतेसम्ममा गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ४२ हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका सबै स्थानीय तहबाट मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार बसाइँसराई र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने, ‘हामी अहिले जिल्लाको यकिन मतदाता संख्या निकाल्न लागिपरेका छौं ।’ उनका अनुसार साउनदेखि माघ २४ गतेसम्म ४२ हजार जिल्लाका र एक हजार बाहिरका मानिसको मतदाता नामावली संकलन भएको छ ।
‘बाँकेमा कति बसाई गरेर आउँछन्, कति बसाई सरेर जान्छन्, त्यो निकाल्ने काम गरिरहेका छौं,’ जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई माघ २९ गतेसम्म बसाइसराइसहितको यकिन तथ्यांक पठाउन निर्देशन दिएको थियो ।
जनशक्ति अभावका कारणले बाँकेले त्यो काम पूरा गर्न सकेको छैन । निर्वाचन अधिकारी सुवेदीले अहिले मतदाता नामावली मिलाउने काम द्रुतगतिमा भइरहेको बताए । २०७७ पुस ५ गतेसम्ममा बाँकेमा दुई लाख ८८ हजार १४२ मतदाता थिए । नयाँ मतदाताको संख्या अद्यावधिक भएको छैन ।
२०७४ सालको निर्वाचनमा बाँकेमा ३६५ वटा मतदान केन्द्र थिए । बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचन कार्यालय बाँकेले एक महिनाभित्र मतदाता संख्या यकिन हुने बताएको छ ।
।