सूचनाको शक्ति - The Power Of Information

        

चोरीको नयाँ शैली

दिनभर चल्ला बिक्री, रात परेपछि डकैती

बाँके । भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे । चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने ‘रेक्की’ समेत गर्न भ्याउँथे ।

चल्ला बेच्ने निहुँमा घर, धन सम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न आउने गरेको पाइएको छ । उनीहरु बर्दियाको बढैयाताल र बाँकेको खजुरामा सुनसहित ठूलो धनसम्पत्तिसमेत लुट्न सफल भएका थिए ।

त्यही मनिहार साथीसँगै बाँकेको जानकी गाउँपालिकामा लुट्दै गर्दा गाउँलेको कब्जामा परे । गाउँले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुको चोरी–डकैती गर्ने तरिका पर्दाफास भएको हो ।

मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८ शितलाबजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेको थियो ।

माघ १७ गते बाँकेको खजुरा गाउँपालिका– ४ डीगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरेको थियो ।

माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया गाउँलेको कब्जामा परे । मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताए ।

मनिहारका अनुसार रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् । यो टोली बाँके र बर्दियाको छोटी नाकाबाट १०/११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गर्दथ्यो ।

बाँके खजुराको विकको घरमा राति एक बजे लुटपाट गरिएको थियो । पीडित हरिप्रकाश विकका अनुसार पछाडिको ढोकाबाट भित्र छिरेका चार जना डाँकाले सुरुमा छोरालाई नियन्त्रणमा लिएका थिए ।

अर्को छोरालाई बुवाआमा सुतेको कोठाको ढोका खोल्न लगाए । छोराले मलाई ज्वरो आएको छ, ढोका खोल्नु भनेपछि हरिप्रकाशले ढोका खोलेका थिए । ढोका खोल्नेबित्तिकै टोपी लगाएका र मुख छोपेका व्यक्तिले विकको कन्चटमा पेस्तोल ताकेर हात पछाडि बाँधेका थिए ।

घरको सबै ठाउँमा खानतलासी गर्न डाँका समूहले विकको घरमा एक घण्टा बिताएको थियो । अन्तिममा विकको परिवारलाई एउटा कोठामा थुनेर बाहिरबाट चुकुल लगाएर डाँका टोली गएको थियो ।

विकको खजुरा–१ मा सुन पसल छ । विकले त्यो दिन आफूसँग धेरै सुन नरहेको बताए । बाँके प्रहरी घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयासमा छ । बर्दियामा डकैटी गर्दा ६ जना थिए भने खजुरामा चार जना आएका थिए ।

यी ६ जना पेशेवर डाँका रहेको प्रहरीले बताएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिनभरि चल्ला बिक्री गर्दै घरघरमा पुगेर रेक्की गर्ने र राति साथीहरु ल्याएर डकैती गर्ने गरेको बताए ।

उनले सबै पेशेवर डाँकालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । यो डाँका टोलीसँग कटुवा पेस्तोल रहेको छ । पेस्तोलको कारोबारसमेत गर्ने बुझिएको छ । यो टोलीका अकिल साई भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ रहेको मनिहार बताउँछन् ।

मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्धामा लागेका हुन् । भारतमा उनीविरुद्ध आठ वटा मुद्दा रहेको प्रहरीले जनाएको छ । बाँके र बर्दिया भारतको सीमावर्ती जिल्ला हुन् । अपराधीहरुले नेपाल र भारतको खुला सिमानाको फाइदा लिँदै आएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १३:०९