सूचनाको शक्ति - The Power Of Information

        

भारतीय हस्तक्षेप

लिपुलेक–कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी तैनाथ

काठमाडौं । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले २५ सय बढी सुरक्षाकर्मी तैनाथ गरेको पाइएको छ ।

कालापानी, लिपुलेक, गुन्जी, नावी लगायतका क्षेत्रमा भारतले सो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको पाइएको हो । नेपाली सुरक्षा अधिकारीलाई प्राप्त जानकारीअनुसार कालापानी क्षेत्रमा मात्रै ६०० जना सैनिक खटाएको पाइएको छ ।

उनीहरु सबै सुविधा सम्पन्न भवनमा बस्दै आएका छन् । भारतीय सेनाबाहेक सीमा सुरक्षा बल (एसएसवी), तिब्बत सीमामा छुट्टै फौज खटाइएको छ । नेपालको दार्चुलादेखि कालापानी क्षेत्रसम्म दर्जनौं भारतीय सीमा सुरक्षा क्याम्प रहेको बताइएको छ ।

नेपालको नक्सामा कालापानी, लिपुलेकको भू–भाग समेटिए पनि उपभोग भने भारतले नै गर्दै आएको छ । कालापानी क्षेत्रमा नेपाली नागरिकलाई प्रवेशसमेत रोक लगाइएको छ ।

नेपालका सरकारी अधिकारीसमेत सो क्षेत्र पुग्न सकेका छैनन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार सो क्षेत्र भारतीय सुरक्षा फौजको कब्जामा रहेकाले नेपालको उपस्थिति हुन नसकेको बताउँछन् ।

उनले भने, ‘हामीले माथिल्लो निकायलाई जानकारी दिइरहेका छौं । जिल्ला तहबाट यो समाधान हुने कुरा होइन । केन्द्र सरकारकै पहलबाट हुने कुरा हो ।’

भारतले कालापानीसम्मै सुरक्षा फौजको उपस्थिति राखेको भए पनि नेपालतर्फ भने छाङरुसम्म मात्रै सुरक्षा निकायको उपस्थिति छ । कालापानी, लिपुलेक व्याँस गाउँपालिकामा पर्छ ।

अन्य समयमा तिंकरसम्म प्रहरी तैनाथ हुने भए पनि अहिले मौसम प्रतिकूलताका कारण प्रहरी सो क्षेत्रबाट छाङरु सर्ने गर्दछन् । सो क्षेत्रमा अहिले बाक्लो हिउँ छ । यसअघि दार्चुलाको माथिल्लो क्षेत्रमा थोरै संख्यामा प्रहरी मात्रै रहे पनि गत वर्षदेखि छाङरुमा सशस्त्र प्रहरीको गुल्म बस्दै आएको छ ।

सशस्त्र प्रहरीलाई पनि भारतीय सुरक्षा फौजले कालापानी क्षेत्रमा गस्ती जानबाट रोकेका थिए । गत जेठमा नेपालको प्रतिनिधि सभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा र निशान छाप पारित गरेको थियो ।

सन् १९६२ चीनसँगको युद्धको समयदेखि नेपाली भूमि कालापानीमा भारतले कब्जा जमाउँदै आएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीमा मात्र नेपालको ३७२ वर्ग किमी जमीन भारतको कब्जामा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १२:४१