च्यातिएको प्रेमपत्र देखाऊ कसरी,
टुक्रा–टुक्रा मिलाई पढेर सुनाउँ कसरी ।
म कलमको अजय युद्ध गर्ने मान्छे,
हतियारको लडाई हारेर आउँ कसरी ।
पीडा राख्ने ठाउँ नभएको मन–मुटुमा,
तिमीले दिएको चोट अटाउँ कसरी ।
मेरो अवस्था देखेर भावुक नबन्नु,
रोगी छ मुटु स्पन्दन बचाउँ कसरी ।
वेदनाका पिरामिड बन्दै गरेको बेला,
म मुस्कुराउँ कसरी म रमाउँ कसरी ।
प्रेमपत्रसँग तस्वीर जलाई दिए,
यी यादहरूमा आगो लगाउँ कसरी
————————————
मेरो अभाव भरे साँझ परेपछि थाहा हुन्छ,
पराईले खाली सिउँदो भरेपछि थाहा हुन्छ ।
कति दुख्छ देश कति लाग्छ देशको माया,
देशै छोडी मेचीकाली तरेपछि थाहा हुन्छ ।
कसको हो मन अनि कसको हो स्पन्दन,
त्यो त वास्तविक कुरा गरेपछि थाहा हुन्छ ।
समीपमा रहँदा कुनै वास्ता नै छैन उसलाई,
एकदिन क्षितिजपारि बसाइँ सरेपछि थाहा हुन्छ ।
पारिजातको अर्थ किन बुझ्दै बुझ्दैनौं तिमी,
रातमा फुलेर बिहान झरेपछि थाहा हुन्छ ।
बाँचुञ्जेली गरिँदै गरिँदैन हेराफेरी यहाँ,
मान्छेको अस्तित्व त मरेपछि थाहा हुन्छ ।
।