सूचनाको शक्ति - The Power Of Information

        

साइपालमा खाद्यान्न अभाव भएपछी हेलिकप्टर मार्फत ढुवानी

बझाङ ।  बझाङमा लगातार परेको हिमपातका कारण खाद्यान्न अभाव भएपछि बझाङको विकट साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको छ ।

नेपाल खाद्य संस्थानको बझाङ देवल स्थित गोदामबाट आज चामल हेलिकप्टर मार्फत साइपाल पु¥याइएको हो । हेलिकप्टरले तिनपटक गरी ६१ क्विन्टल २० केजी चामल चरम अभाव रहेको साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पुर्याएको हो ।

उक्त चामल साइपाल गाउँपालिकाका नागरिकहरुले प्रति केजी ५० रुपैयाँमा पाउने भएका छन् । सदरमुकाम चैनपुर बाट पैदल ३ दिन लाग्ने साइपाल गाउँपालिकामा खेतियोग्य जमिन र उब्जनी नभइ प्रत्येक बर्ष खाद्यान्न अभाव हुने भएकाले त्यहाँका स्थानियहरु स्थाइ खाद्यान्न, नुनको डिपो हुनुपर्ने माग समेत राख्दै आएका छन् ।

हिमपातका कारण साइपाल गाउँपालिकामा बाक्लो पाँच देखी सात फिट सम्म हिउँ जमेर बाटा घाटा बन्द भएका छन । स्थानियको घरमा संचित खाद्यान्न पनि सकिए पछि साइपालमा खाद्यान्नको चरम अभाव सुरु भएको थियो ।

खाद्यान्न ढुवानी गर्न यातायातका साधन नपुगेको र भेडा च्याङ्ग्राका लागी बाटो नभएकाले हेलिकप्टरलाई गुहार्नु परेको स्थानिय तिलक विकले बताउनुभयो ।

अहिले साइपाल गाउँपालिकाका ३ वटा वडामा तत्काल खाद्यान्न अभाव भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत इमरजेन्सी रुपमा खाद्यान्न ढुवानी गरिएको र आगामी दिनमा समेत साइपाल गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन योजना बनाएर गाउँपालिका संग समन्वय भैरहेको खाध्य व्यवस्था तथा व्यापार कम्पनीका विभागिय प्रमुख भिम थापाले बताउनुभयो ।

यो बर्ष साइपाल गाउँपालिकामा ३ हजार क्विन्टल चामल ढुवानी हुने भएको छ । साइपालमा हिमपातका कारण बर्षेनी खाद्यान्न अभाव हुँदै आएको छ ।

त्यहाँका स्थानियहरुको आम्दानीको स्रोत भनेकै यार्सागुम्बा, भेडापालन भएपनि पछिल्लो समय वन विनासका कारण यार्सागुम्बा कम पाइने र भेडाका लागि चरिचरनको अभाव भएपछी व्यवसाय छोड्न थालेका छन् ।

कतिपय मानिसहरु आफ्नो छोराछोरी पढाउन र विरामी हुँदा औषधी उपचार गर्न सदरमुकाम चैनपुर आउन ४ दिनलाग्ने भएकाले बसाईसराइ गर्ने क्रम समेत बढ्न थालेको छ ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १०:०८