सूचनाको शक्ति - The Power Of Information

        

गोरखाली गाउँमा रुघा खोकी तथा ज्वरोका विरामीहरु बढे

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा रुघा खोकी तथा ज्वरोका विरामी बढेका छन् ।

खप्तडछान्ना गाउँपालिका – ७ गोरखालीका स्थानियहरुमा एक साता देखी ज्वरो आउने हातखुट्टा टाउको दुख्ने रुगाखोकी लाग्ने समस्या देखा परेको छ ।

सदमुकाम चैनपुरबाट करिब १ दिन लाग्ने उक्त गोरखाली गाउँका प्राय ः जसो बालबालिका, युवा, जेष्ठनागरिकमा उक्त समस्या देखापरेको खप्तडछान्ना गाउँपालिका वडानम्बर ७ का वडा सदस्य गोविन्द बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँघरमा औषधि कसै संग छैन् । जिल्ला अस्पताल पुग्न १ दिन लाग्छ । गडराय स्वास्थ्य चौकी जान १ घन्टा ५० मिनेट लाग्छ । त्यसैमा त्यहा पुग्न २ हजार खर्च हुन्छ । गाउँमै औषधि पाउने व्यवस्था भैदिएको भए राम्रो हुने थियो ।’

हिमपात भएपछी गाउँमा चिसो बढे संगै ज्वरो, रुगाखोकी जस्ता समस्याहरु बढेको हुन सक्ने र गत बर्ष यसै समयमा भाइरल फिगर देखा परेकाले महामारिकै रुपमा फैलिएको खण्डमा गडराय स्वास्थ्य चौकीबाट शिविर संचालन गरिने र रुगाखोकी नभएको खण्डमा पिसिआर परिक्षण गर्ने योजना बनाएर उक्त ठाउँमा स्वास्थ्यकर्मीको टिम खटिने गडराय स्वास्थ्यचौकीका इन्चार्ज सिताराम थारुले बताउनुभयो ।

गोरखाली गाउँमा बर्थिङ सेन्टर मात्रै रहेको छ । कतिपय स्थानियहरु भने गोरखाली गाउँबाट हिडेर उपचारका लागी गडराय स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।

विरामीहरुलाई तातोपानी पिउन, चिसोमा हिडडुल नगर्न, आराम गर्न र माक्सको अनिवार्य प्रयोग गर्न समेत इन्चार्ज थारुले सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:५८