सूचनाको शक्ति - The Power Of Information

        

डुडुवाका जेष्ठ नागरिकलाई ‘न्यानो सामाग्री’

बाँके । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पूर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासंगै वितरण गरिरहेको हो ।

जेष्ठ नागरिकसँगै अपाङ्गता भएकाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरिएको छ । वडा नं. २ र ३ का पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका (क) र (ख) वर्गका अपाङ्गता भएका १०७ जनालाई न्यानो सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाले हालसम्म २६०३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चोधरीले बताए । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो ।

गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो त्रेमासिक साउनदेखि पुससम्मको भत्ता वितरण भइरहेको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक–एक वटा बलान्केट र च्यवनप्राश घरैमै पुगेर वितरण गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि २७२८ जना र ३३८ जना अपाङगता भएकाहरुलाई कम्वल र च्यवनप्राश वितरण गरिने गाउँपालिकाले जनाएको छ । वितरणको कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १०:०२