सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै छ।

सभामुखले आज सोमबार दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको न्यौपानेको भनाइ छ। ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने।

आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्।

अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन्। यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले उपस्थिति भएको थिएन।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०९:३७