मन्त्री अथकले भने, ‘निर्वाचनमार्फत राष्ट्रघातीलाई कारबाही’ (भिडियोसहित)
।
बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले आगामी निर्वाचनमार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताएका छन् ।
२७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्वहरुलाई निर्वाचनमार्फत कारबाही गर्ने बताए ।
देशमा अहिले पनि गम्भीर प्रतिक्रान्ति र राष्ट्रघातका खतराहरु मडारिरहेको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाली जनता त्यो महान जनता हो जसले सयौं वर्षको राजतन्त्र समाप्त गरेर आफ्नो शासन ब्यवस्था आफैले रोजेको हो, तसर्थ राजनितिका नाममा गरीने तमाम खालका हर्कतहरु चिर्न नेपाली जनता सक्षम छन् ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अथकले महान सहिदहरुको बलिदानबाट प्राप्त ब्यवस्थामाथि ब्यवस्था बिरोधी तत्वले हालिमुहाली गरिरहेको बताए ।
गणतन्त्रका बिरोधीहरुले परिवर्तनको नेतृत्व गरेको माओवादीमाथि ज्यादती गर्न खोजिरहेकाले जनता जागरुक हुनुपर्ने अवस्था आएको बताउँदै मन्त्री अथकले आफ्नो अधिकार प्राप्तीका लागि गणतन्त्र पक्षधरहरु पुनः एकजुट हुनुपर्ने बताए ।
जनयुद्धको बलमा संघियता, धर्मनिरिपेक्षता, समावेशी समानुपातीक प्रतिनिधित्वसहितको गणतन्त्र स्थापित गर्ने माओवादी संसारका कुनै पनि प्रतिक्रियावादीको अगाडी नझुक्ने बताउँदै मन्त्री अथकले राष्ट्रिय हित, स्वाधिनता, प्रतिष्ठा र जनताको सर्वोपरी हितकालागि सदैब लागिपर्ने समेत प्रष्ट पारेका छन् ।
।