झापा । भारतीय जेलमा कसूरमाथि विना सुनुवाइ ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति पाएका छन् ।
उच्च अदालत, कोकलाताको आदेश अनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले काँकडभिट्टामा आयोजित समारोहमा उनलाई क्षतिपूर्ति रकम बराबरको चेक हस्तान्तरण गरे ।
भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो ।
मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।
क्षतिपूर्ति रकम पाउने भएपछि दुर्गाप्रसाद आफन्तसमेत रहेका प्रदेश सांसद धिरेन्द्र शर्मा, भतिजा गोपाल तिम्सिनासहित काँकडभिट्टा आएका थिए ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए ।
दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो ।
चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।
।