सूचनाको शक्ति - The Power Of Information

        

२६ औं जनयुद्ध दिवस

मन्त्री अथक लगायत माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरु फत्तेपुरमा

७० जनाका परिवारलाई अभिनन्दन गर्ने

बाँके । राप्तीसोनारी गाउँपालिकामा आज २६ औं जनयुद्ध दिवस मनाइँदै छ । नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटीले जनयुद्ध दिवस भव्यरुपमा मनाउन थालेको हो ।

गाउँ कमिटीले जनयुद्धका क्रममा सहिद तथा बेपत्ता भएका परिवारलाई अभिनन्दन गर्ने तथा बृहत रक्तदान गर्ने कार्यक्रम गदैछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज मन्त्री अथक लगायत माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरु फत्तेपुर पुगेका छन् ।

राप्तीसोनारी ६ का वडाध्यक्षसमेत रहेका उपाध्यक्ष जनक थारुका अनुसार राप्तीसोनारी ६ स्थित सहिद स्मृति पार्कमा कार्यक्रम गरिनेछ । उनले राप्तीसोनारी गाउँपालिकाभरीका सहिद तथा बेपत्ता गरि ७० जनाका परिवारलाई अभिनन्दन गर्ने पनि जनाए ।

साथै जनयुद्ध दिवसकै अवसरमा बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको गाउँ कमिटीका सचिव सुर्य घर्तीले जानकारी दिएका छन् । उनका अनुसार रक्तदान कार्यक्रममा १०० बढीको सहभागीता गराउने लक्ष्य रहेको छ ।

सामाजिक कार्यमा अग्रसर हुन सबै कार्यकर्तालाई गाउँ कमिटीले आग्रहसमेत गरेको छ । अन्य पालिकालेपनि छुटछुटै कार्यक्रम आयोजना गरेर दिवस मनाउँदै छन् गणतन्त्र र नयाँ जनवादी सत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

यसैबिच, जनयुद्ध दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पुर्व सभामुख कृष्ण महरा बर्दिया पुगेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ११:१५