बाँके । लामो समयदेखि निर्माणको पर्खाइमा रहेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको जग्गा विकासको काम सुरु भएको छ ।
चालू आर्थिक वर्षभित्रै जग्गा विकासको काम पूरा गरेर भौतिक संरचना निर्माण सुरु गर्नेगरी जग्गा विकासका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए ।
यसका लागि ७५ करोड रुपैयाँ लागत अनुमान छ । औद्योगिक क्षेत्र निर्माणका लागि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक वर्षअघि शिलान्यास गरे पनि जग्गा विवादका कारण काम सुरु हुन सकेको थिएन ।
अहिले जग्गा विवाद समाधान हुने देखिएकाले खाली जग्गा विकासको काम सुरु गर्ने तयारी गरिएको प्रमुख पुनले बताए । उनले फागुनको पहिलो सातामा जग्गा विकासका लागि बोलपत्र आह्वान गर्ने पनि जानकारी दिए ।
बोलपत्र स्वीकृत भएलगत्तै औद्योगिक क्षेत्रको ३३८ बिघा जग्गामध्ये ८० प्रतिशत क्षेत्र समतल बनाउन थालिने उनले बताए । प्रमुख पुनका अनुसार यसअघि नै पहिलो चरणमा औद्योगिक क्षेत्र निर्माणका लागि ३३८ बिघाको लालपुर्जा प्राप्त गरिसकिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धित मन्त्रालयले स्वीकृत गरिसकेको पनि पुनले बताए । औद्योगिक क्षेत्र निर्माणको लागत आठ अर्ब रुपैयाँ रहने अनुमान छ ।
२०७२ साल चैत १ गते औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले निर्णय गरेकामा छ वर्ष बितेपछि हाल आएर जग्गा विकासको कार्य सुरु हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
नौबस्ता औद्योगिक क्षेत्रको स्वीकृत डीपीआरअनुसार त्यहाँ ३०० उद्योग स्थापना हुनेछन् । यसले लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक विकासमा योगदान पुर्याउने उद्योगी व्यवसायीको भनाइ छ ।
बाँकेमा नयाँ उद्योग खोल्न चाहने उद्योगी व्यवसायीको सङ्ख्या र आकर्षण दिनदिनै बढ्दै गएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणमा ढिलाइ हुँदा उद्योगीमा चिन्ता बढेको बताए ।
निर्माण कार्य सुरु हुने जानकारी पाएसँगै त्यहाँ उद्योग खोल्न चाहनेहरू उत्साहित छन् । नौबस्तामा औद्योगिक क्षेत्र सञ्चालन हुने भएपछि २५० लगानीकर्ताले उद्योग खोल्न निवेदन दिइसकेका छन् । औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएपछि करिब १० हजारले प्रत्यक्ष रूपमा रोजगारी पाउने अनुमान छ ।
।