सूचनाको शक्ति - The Power Of Information

        

कोरोना र मलेरिया परीक्षण ‘जमुनाह नाकामै’

बाँके । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहमा भारतबाट फर्किने नेपालीको कोरोनासँगै मलेरिया परीक्षण गर्न थालिएको छ ।

भारतका केही स्थानमा मलेरिया देखिएकाले जुमनाहा नाकामा रहेको हेल्थ डेस्कले कोरोनासँगै मलेरियालाई पनि प्राथमिकता दिएर परीक्षण गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहले बताए ।

जमुनाहा नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले भारतबाट आएका केहीलाई मलेरिया देखिएको जनाउँदै त्यसपछि आउने प्रायः सबै जसोको कोभिडसँगै मलेरिया पनि जाँच गर्ने गरिएको बताए ।

ल्याब टेक्निसियन ज्ञवालीका अनुसार फर्केकामध्ये बाँके, बर्दिया र कैलालीका मानिसमा मलेरिया देखिएको थियो । केही समय अघिसम्म दैनिक ४० जना जतिमा देखिन थालेको सङ्क्रमण अहिले १० जनाभन्दा पनि कममा झरेको उनले बताए ।

भारतबाट आएका ३० हजार जनाभन्दा बढीको मलेरिया आरडीटी जाँच गरिएको जमुनाहा हेल्थ डेस्कले जनाएको छ । नेपालगन्ज नाकामा कोभिड र मलेरियासँगै क्षयरोगको पनि जाँच हुने गरेको जनाइएको छ ।

ल्याब टेक्निसियन ज्ञवालीले एक हजारभन्दा बढीलाई जाँच गर्दा १० जनामा क्षयरोग देखिएको बताए । उनका अनुसार भारतबाट आउने मानिसलाई अहिलेसम्म डेङ्गु र कालाजारको जाँच हुन सकेको छैन ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:५९