बाँके । नेपालगन्ज बजारका धेरै चोक र व्यापारिक क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई निकै समस्या छ । यही समस्या बुझेर नेपालगन्ज उपमहानगरपालिकाले आधा करोड बढी खर्च गरेर चार वटा घुम्ती शौचालय किनेर ल्यायो ।
यी घुम्ती शौचालय पनि ठेकेदारको जिम्मा लगायो । शुरुवाती ६–७ महिना घुम्ती शौचालय राम्ररी सञ्चालनमा आयो । करिब ५० लाख रुपैयाँ खर्च गरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा घुम्ती शौचालय चाहिँ सञ्चालन गर्न नसकेर थन्क्याइएका छन् ।
उपमहानगरपालिकाले तामझामका साथ घुम्ती शौचालय सञ्चालन गरेको थियो । विस्तारै व्यापारीले पसल अगाडि राख्न नहुने, चोकमा राख्दा ट्राफिक समस्या भएको बताउन थालियो । अन्ततः घुम्ती शौचालय थुन्किन पुगे । अहिले थन्किँदा मतलव राखेको पाइँदैन ।
उपमहानगरपालिकाले नगरका २१ वटा शौचालयसँगै चार वटा घुम्ती शौचालयसञ्चालनको जिम्मा एउटै ठेकेदारलाई दिएको थियो । अहिले ती घुम्ती शौचालय ल्याण्डफिल साइटमा थन्किएका छन् । ती घुम्ती शौचालय चुहिने भइसकेका छन् ।
उपमहानगरपालिकाले मुख्य बजारमा घुम्ती शौचालय राख्ने र किनमेल गर्न आउनेलाई शौचालयको सुविधा दिने रणनीति बनाएको थियो । केही समय यो सुविधा दिइयो पनि । ‘माल पाएर चाल नपाएको’ अवस्था भएको छ ।
ठेकेदार कम्पनीले चलेका केही ठाउँका शौचालयबाटै मनग्गे कमाइरहेकाले घुम्ती शौचालयलाई थन्क्याइएको हो । उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले जहाँ राखे पनि समस्या भएपछि घुम्ती शौचालय थन्किएको बताए ।
यी शौचालय सञ्चालनका लागि क्लिनर्स कन्सर्न सर्भिसलाई ठेक्का दिइएको छ । ठेकेदार कम्पनीले अर्को व्यक्तिलाई ठेक्का दिएर शौचालयबाट पैसा कमाइरहेको छ । भीडभाड नहुने अर्थात् थोरै पैसा कमाइ हुने ठाउँका शौचालय बेवारिसे अवस्थामा छन् ।
उपमहानगरपालिकाले मुख्य बजारमा घुम्ती शौचालय राख्ने र किनमेल गर्न आउनेलाई शौचालयको सुविधा दिने उद्देश्यले शौचालय खरिद गरेर ठेकेदारको जिम्मा लगायो । सुरुवाती छ/सात महिना सञ्चालन गरियो, अनि थन्क्याइएका हुन् ।
त्रिभुवन चोकका स्थानीय जावेद राई भन्छन्, ‘केही दिन चोकमा घुम्ती शौचालय राखिएको थियो, तर कता लगिएको छ कुन्नी ? घुम्ती शौचालयसँगै केही ठाउँमा निर्माण गरिएका आधा दर्जन सार्वजनिक शौचालय पनि बन्द गरिएका छन् ।
मासु मण्डीको शौचालयमा व्यापारीले खसी बाँधेको पाइन्छ भने वडा नं. ८, १९, २१ र उपमहानगरपालिका परिसरमै पश्चिमपट्टि रहेको सार्वजनिक शौचालय सञ्चालनमा छैनन् । थन्क्याइएका ती घुम्ती शौचालयको सरसफाइ पनि गरेको देखिँदैन ।
उपमहानगरपालिकाले बेवारिसे अवस्थामा छोडिएका शौचालयको सरसफाई समेत नभएको नेपालगन्ज-८ का स्थानीय गुड्डु सिद्दिकीले बताए । जहाँ राखे पनि समस्या भएपछि घुम्ती शौचालय प्रयोगमा नरहेको वातावरण इन्जिनियर डिसीले बताए ।
यहाँका व्यापारीले आफ्नो पसल अगाडि राखेको भनी विरोध गरेको र चोकमा राख्दा ट्राफिक व्यवस्थापनमा थप समस्या भएकाले हाल घुम्ती शौचालयलाई ल्यान्डफिल साइटमा राखिएको वातावरण इन्जिनियर डिसीले बताए ।
।