सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आजबाट कुद्नेछ त्रिपालले छोपिराखेको रेल

फाइल तस्वीर

जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

महाप्रन्धक झाले अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आइतबारदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खाली गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगरसम्म रेल ओहोरदोहोर गरिने बताए ।

‘आज आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ,’ महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्रयाक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए ।

तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए । नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो ।

रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ । यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३०० रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगरसम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतवार ०८:१२