बाँके । राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री सवार सरकारी गाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटिएका सुरक्षाकर्मीले २० मिनेट रोके । हतारमा रहेकी उपाध्यक्ष खत्रीले गाडी छोड्न आग्रह गरिन् । सुरक्षाकर्मीले मानेनन् । उपाध्यक्षको गाडी निकुञ्ज क्षेत्रभित्र तीव्रगतिमा चलाएको कारण कारबाहीस्वरुप रोकिएको थियो ।
गत १४ गते १ बजेको घटना थियो यो । उपाध्यक्ष खत्रीले निकुञ्जका प्रमुख, निकुञ्जमा खटिएको नेपाली सेनाका अधिकारीलाई फोन गरिन् । कतैबाट सुनुवाइ भएन । सबैका लागि बनाएको नियम कसैको आदेशमा तोडिनेवाला थिएन । तोकिएको समयभन्दा अघि पुगेकाले उपाध्यक्ष खत्री सवार गाडीलाई रोकिएको थियो ।
बाँके निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीव्रगतिमा गुड्ने सवारीसाधन धमाधम कारबाहीमा पर्दै आएका छन् । बाँके निकुञ्ज पूर्व पश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज समेटिएको खण्डमा तीव्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको हो ।
निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ । पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ । शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ । निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ । राजमार्ग भएको र टाढा जानुपर्ने भएकाले प्रतिघण्टा ६० किलोमिटरको गतिसम्मलाई व्यवहारिक रुपमा हेर्ने गरिएको छ ।
प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही हुने गरेको छ । प्रगतिनगरबाट प्रवेश गरेका गाडीलाई शिवखोला र शिवखोलाबाट प्रवेश गरेका गाडीलाई प्रगतिनगरमा रोकेर कारबाही गर्ने गरिएको छ । भीटीआरएस प्रविधि जडान गरेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गाडी नम्बर टिप्नुपर्ने झन्झटबाट मुक्ति पाएको छ । गाडी इन्ट्री गर्दा हुने भीडको समस्या हटेको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले भीटीआरएस प्रविधि जडान गरेको एक महिना नपुग्दै धेरै सवारीसाधन कारबाहीमा परेको बताए । पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ निकुञ्ज पर्छ । दक्षिणतिर सामुदायिक वनजंगल छ । उत्तरको निकुञ्जमा रहेका जनावर दक्षिणी जंगलमा जान्छन् । दक्षिणबाट उत्तरतिर जान्छन् । त्यसक्रममा राजमार्गमा गाडीले ठक्कर दिने गर्दछ ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौका लगायत संरक्षित जनावर छन् । यी जनावरसमेत दुर्घटनामा पर्ने भएकाले सवारी साधनको गतिलाई ‘कन्ट्रोल’ गरिएको छ । वार्डेन शाहले वन्यजन्तुलाई बचाउन भीटीआरएस प्रविधि जडान गरिएको बताए । भीटीआरएस नयाँ प्रविधि हो । सबै निकुञ्जमा यो लागू गरिएको छैन । भीटीआरएस जडान गर्ने बाँके राष्ट्रिय निकुञ्ज पहिलो मध्येमा पर्छ ।
यो प्रविधिले सुरक्षामा खटिएको नेपाली सेना, सवारीसाधन चालक दुवैलाई फाइदा पुर्याएको छ । निकुञ्ज क्षेत्रमा कही पनि गाडी रोक्नुपर्दैन । आफ्नै गतिमा गुड्छ । क्यामेराले आफै काम गर्छ । पूर्व र पश्चिमको दुई वटा प्रवेशद्वारमा रहेको क्यामेराले गाडी नम्बर क्याप्चर गर्ने र त्यसलाई अर्को पोष्टमा हेर्न सकिन्छ । तोकिएकोभन्दा तीव्र गतिमा गाडी गुडेको छ भने त्यसलाई कारबाही गरिन्छ । यो कारबाहीमा केही भीभीआइपी पनि परेको स्रोतले बतायो ।
बाघ गणना गर्ने क्यामेरा चोरी
बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ । बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो । बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा.रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए । तीन नम्बर ब्लकमा काम भइरहेको छ । त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ । उनका अनुसार एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चार/चार वटा क्यामेरा चोरी भएका छन् । ६ वटा क्यामेरामा हात्तीले तोडफोड गरेको छ ।
एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ रहेको बताइएको छ । घाँस काट्न गएका र चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् । सन् २०१८ को रिपोर्टअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ छन् । एक र दुई नम्बर ब्लकको काम सकिँदा र तीन नम्बर ब्लकको काम भइरहँदा बाँके र बर्दियामा बाघको संख्या बढेको आँकलन छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको बताए ।
पछिल्लो समय बाघ र मानव द्वन्द्व बढेको छ । सन् २०१९ यता बाँकेमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यो अवधिमा बाँकेदेखि शुक्लाफाटासम्ममा बाघको आक्रमणबाट २८ जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा कडरियाले सबै आक्रमण जंगलभित्रै र दिउँसो भएको बताए । सन् २०१८ पछि दाङदेखि शुक्लाफाटासम्ममा ८ वटा बाघ मारिएका छन् । बाँकेमा तीन, बर्दियामा २, कैलालीमा एक, शुक्लाफाटामा २ वटा बाघ मारिएको छ ।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्याउने प्रतिबद्धता गरेको छ । सन् २०१८ को रिपोर्टअनुसार नेपालमा २३५ वटा बाघ छन् । चौथो ब्लकमा गणना गर्दा क्यामेराको सुरक्षादेखि बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रलाई लक्ष्य गर्ने तयारी गरिएको छ । बाँकेमा निकुञ्जभित्र भन्दा पनि सामुदायिक वनमा आएर बाघले आक्रमण गरेको छ । बाँके निकुञ्जका वार्डेन शाहले बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रमा पनि क्यामेरा राखेर बाघको गणना गर्ने बताए । चौथो ब्लक १७५ ग्रिडमा रहेको छ ।
।