सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जमा लक्ष्यभन्दा कम धान खरिद, किसान असन्तुष्ट

फाइल तस्वीर

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले लक्ष्यभन्दा कम धान किनेको छ । कम्पनीले बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा एक हजार ७०० क्विन्टल मात्रै खरिद गरेको हो ।

कम्पनीको नेपालगन्ज शाखाले धान खरिदका लागि ८५० किसानलाई टोकन वितरण गरे पनि ७१ जना किसानबाट एक हजार ७०० क्विन्टल मात्र धान खरिद गरेको छ ।

मङ्सिर २६ गतेदेखि धान खरिद गर्न सुरु गरेकामा शुक्रबारदेखि बन्द गरिएको कम्पनीका नेपालगन्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार हालसम्म मोटा धान ८६५ क्विन्टल र मध्यम धान ८३५ क्विन्टल खरिद गरिएको छ । समयावधि सकिए पनि छुट भएका किसान आएमा केही दिन धान खरिद गर्न सकिने विष्टले बताए ।

सुरुमा धान बिक्री गर्न ८५० किसानले टोकन लिए पनि अधिकांशको धान कम्पनीको मापदण्डअनुरूप नभएको प्रमुख विष्टले बताए । उनले ११० जना किसान धान बिक्रीका लागि आएकोमा मापदण्ड पुगेका ७१ किसानको धान मात्र धान खरिद गरिएको बताए ।

अधिकांश किसानले पानीमा भिजेको धान लिएर आउन थालेपछि बाध्य भएर फिर्ता पठाउनुपरेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेकोप्रति किसानले असन्तुष्टि जनाएका छन् ।

कम्पनीले अप्ठ्यारो र किसालाई मर्का पर्ने मापदण्ड बनाएर किसानबाट धान खरिद नगरेको आरोप किसानले लगाएका छन् । राम्रो धानलाई पनि वर्षामा भिजेको भनेर कम्पनीले खरिद नगर्दा आफूहरू बाध्य भएर बजारमा निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो डुडुवाका किसान नरेश बर्माले गरे ।

७५० भन्दा किसानले कम्पनीलाई धान बिक्री गर्न नपाएको बताए । नौबस्ताका किसान दीपेन्द्र चौधरीको गुनासो पनि यस्तै छ । उनले राम्रा धानलाई पनि कम्पनीले फिर्ता गरेकाले व्यवसायीसँग मिलेमतो भएको आरोप लगाए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार ०८:५१