सूचनाको शक्ति - The Power Of Information

        

अपराध

ई–रिक्सामै सुपारी तस्करी

बाँके । पछिल्लो समयमा बाँकेमा तस्करीमा ई–रिक्साको प्रयोग बढ्दै गएको पाइएको छ । प्रहरीले पटकपटक ई–रिक्साको हुडमा लुकाएर भारतबाट अवैधरूपमा चोरी पैठारी गरेर ल्याइएका मालसामान बरामद गरिसकेको छ ।

ई–रिक्साको हुड र डिकीमा लुकाएर दैनिकजसो सुपारी भारततर्फ तस्करी गर्ने कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्जका विभिन्न स्थान र नाकाबाट अवैध रूपमा ई–रिक्साको हुड र भित्र डिकीमा लुकाएर भारततर्फ लैजान लागेको सुपारी धेरै पटक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार काटेको सुपारीलाई बोरामा भरेर हुडभित्र तथा डिकीमा लुकाएर भारततर्फ लैजाने क्रम बढेको सूचना प्रहरीलाई प्राप्त भएपछि ई–रिक्सामाथि निगरानी बढाउँदा सुपारी बरामद गर्ने कार्य निरन्तर चलिरहेको छ ।

नेपालगन्जस्थित जमुनाहा नाकाबाट दैनिकजसो ठूलो परिमाणमा विभिन्न सवारीसाधन र पैदल यात्रा गर्नेको माध्यमबाट सुपारी भारततर्फ तस्करी भइरहेको छ । उनीहरूले नै भारतबाट भन्सार छलेर अवैधरूपमा विभिन्न घरायसी प्रयोजनका सामानसहित कपडा र मोटरपार्टस् नेपाल भित्र्याउने गरेका छन् ।

६ महिनाको अवधिमा भन्सार चोरी पैठारी गर्नेबाट विभिन्न सामान नियन्त्रणमा लिएर चार करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बाँके प्रहरीले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा भन्सार चोरी पैठारीबाट चार करोड ३६ लाखसहित सुन तस्करी, ट्राफिक कारबाही, नदीजन्य पदार्थ उत्खनन, काठ तस्करी, कुखुरा आयात, जुवातास र फरार अभियुक्तबाट नौ करोड ३९ लाख रुपियाँभन्दा बढीको राजस्व सङ्कलन गरेको जनाइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०९:४२