सूचनाको शक्ति - The Power Of Information

        

समाचार

क्यासिनो बन्द प्रकरण : गलत सूचनाले बनायो मन्त्री आलेलाई ‘नाङ्गेझार’

काठमाडौं । सस्तो लोकप्रियताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ८ वर्ष अगाडि नै बन्द भएको क्यासिनोमा बन्द गराएर आफै नाङ्गिएका छन् । मन्त्री आलेलाई सचिव महेश्वर न्यौपानेले गलत सूचना दिएका कारण नाङ्गिएका हुन् ।

मन्त्री आले होटेल याक एण्ड यतीको क्यासिनो र होटेललाई बिहीबार अचानक निर्णय गरेर बन्द गराएका थिए । आलेले होटेलको सम्पत्ति र चलअचल सम्पत्ति पनि रोक्का गरिदिएका छन् । ४० वर्षभन्दा धेरै लामो इतिहाँस बोकेको पाँच तारे होटेल याक एण्ड यतीलाई रोयल्टी नतिरेको अभियोगमा मन्त्री आलेले बन्द गराएका थिए ।

होटेलका तर्फबाट काठमाडौंमा बुधबार पत्रकार सम्मेलन २०७१ सालमा बन्द रहेको क्यासिनोलाई मन्त्री आलेले ८ वर्षपछि बन्द गराएको जानकारी दिइएको छ । होटेलले क्यासिनो सञ्चालनका लागि इजाजत पत्र लिन निवेदन नै दिएको छैन ।

होटेल याक एण्ड यतीको क्यासिनोलाई पर्यटन मन्त्रालयले २०७१–०१–०५ गते खारेज गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । गलत तथ्यलाई आधार मानेर मन्त्री आलेले क्यासिनो खारेज गरेको होटेलको आरोप छ ।

मन्त्री आलेले अध्ययन नै नगरेर याक एण्ड यती होटेललाई बन्द गराएको भन्दै व्यवस्थापनले आपत्ति जनाएको छ । क्यासिनो सञ्चालन गर्दा वार्षिक ४ करोड तिर्नुपर्छ । ८ वर्ष अगाडि बन्द भएको क्यासिनोसँग मन्त्री आलेले कसरी ४२ करोड रोयल्टी मागेको हो भनेर होटेल व्यवस्थापनले प्रश्न गरेको छ ।

क्यासिनोको इजाजत पत्र एक वर्षको लागि जारी हुन्छ । प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने कानूनी व्यवस्था छ । होटेल याक एण्डमा ५०० मजदुर कार्यरत छन् । होटेलमा पर्यटकहरू बसेका बेला मन्त्री आलेको मुढेबलमा होटेल बन्द गराएर राज्य आतंक मच्चाएका छन् ।

पाँचतारे होटेल बन्द गर्दा कस्तो छवि गयो ? भनेर प्रश्न उठेको छ । मन्त्री आलेका कारण आफूहरूलाई राज्यबाट अन्याय भएको व्यवस्थापनले जनाएको छ । क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाएको भन्दै आलेले काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एण्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गराएका थिए ।

याक एण्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको मन्त्री आलेको दाबी छ । नेपालगन्जमा ड्रिमल्यान्ड होटेल र मिनी क्यासिनो सञ्चालन गरेको काठमाडौंको ह्याप्पी आवर प्रालिले ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ रोयल्टी र दस्तुर तिर्न बाँकी रहेको दाबी छ ।

मन्त्री आलेले याक एण्ड यतीको पाँचतारे वर्गीकरण पनि खारेज गरेका छन् । पर्यटन विभागले याक एन्ड यती र ह्याप्पी आवरसँगै ओरियन्टल होटेल लिमिटेड, सेन्ट्रल मिडिया र रक इन्टरनेसनल क्यासिनोलाई पनि अल्टिमेटम दिएको थियो । ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख बक्यौता बुझाउन बाँकी थियो ।

उनीहरूले आधा रकम बुझाएका छन् । यसअघि १३ करोड रुपैयाँ नतिरी अमेरिका उड्न लागेका एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको थियो । विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि बोल्सोभरले रोयल्टी तिरेका थिए । उनले ओसिपी एसियाको लगानीमा लाजिम्पाटस्थित सांग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०९:१६