काठमाडौं । नेपालमा पुसयता उच्च बनेको कोभिड १९ को संक्रमण माघ तेस्रो सातायता घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ २६ गतेको तथ्यांकअनुसार टेस्ट पोजिटिभ दर १४.६७ प्रतिशतमा झरेको छ । अहिले देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित छन् ।
दैनिक थपिने संक्रमितको संख्या भने २ हजार ५०० भन्दा कम रहेको छ । तर, संक्रमणबाट मृत्यु हुनेको संख्या भने दैनिक थपिने संक्रमितको तुलनामा बढी छ । पछिल्लो साता पनि दैनिक मृत्यु हुनेको संख्या १० भन्दा माथि नै रह्यो । संक्रमण निरन्तर ओरालो लागिरहेका बेला मृत्यु हुनेको संख्या बढी देखिनुमा विज्ञहरूका तर्क यस्ता छन् ।
संक्रमण उच्च भएको केही साता मृत्यु हुनेको संख्या बढ्छ
नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो । संक्रमण उत्कर्षमा पुगेको दुईदेखि तीन सातासम्म मृत्यु हुनेको संख्या बढ्नु स्वाभाविक भएको विज्ञहरू बताउँछन् ।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला संक्रमण उच्च भएपछिको १० देखि १४ दिन अवधिको ‘ब्ल्याक पिरियड’मा संक्रमित सिकिस्त हुने र मृत्युसम्म पुग्ने सम्भावना रहने बताउँछन् । त्यसैले संक्रमण उच्च भएको दुई साता पछिसम्म पनि मृत्युको संख्या केही बढ्नसक्ने देखिन्छ ।
कोरोना संक्रमण नभए दीर्घरोगी र वृद्धवृद्धाको मृत्यु बढ्छ
पछिल्लो समय कोभिड १९ संक्रमण भएर अस्पताल भर्ना हुनेको संख्या निकै कम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ३० हजार २४१ सक्रिय संक्रमितमध्ये १ हजार १२४ जना अस्पताल भर्ना भएका छन् । तीमध्ये पनि २४२ जना आईसीयूमा र ४२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
संक्रमितको तुलनामा अस्पताल भर्ना हुनेको यो संख्या कम
त्रिवी शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा.निरज बम अन्य रोग लिएर अस्पताल आउनेहरूमा पनि उपचारको क्रमम कोभिड १९ संक्रमण पुष्टि हुने गरेको र उनीहरू निमोनियाको अवस्थासम्म पुग्ने गरेको बताउँछन् ।
यसरी भर्ना हुनेमा अधिकांश दीर्घरोगी र वृद्धवृद्धा भएको उनी बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन डिसेम्बरदेखि जनवरीसम्म नेपालमा सामुदायिक निमोनियाका कारण धेरै मृत्यु हुने अवधि रहेको बताउँछन् ।
यो समयमा मौसम, संक्रमण आदी अन्य कारणले पनि निमोनिया बढी हुने र त्यसले सबैभन्दा छिटो दर्घिरोगी र वृद्धवृदालाई असर गर्नले उनले बताए । ‘यसरी हेर्ने हो भने अहिले भइरहेको मृत्युलाई कोभिड १९ सँगमात्रै जोडेर हेर्न मिल्दैन,’ उनले भने ।
संक्रमण उच्च भएयता मृत्यु हुनेमा ८० प्रतिशत ५० माथिका नागरिक
नेपालमा माघ १ गतेयता कोभिड १९ संक्रमणबाट २३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । तीमध्ये १९० जना ५० वर्षमाथिका नागरिक रहेका छन् । यसअघि संक्रमणका दुईवटा लहरमा पनि ६९ प्रतिशत मृतक ५० वर्षमाथिका नागरिक रहेका छन् ।
यो उमेरका नागरिकलाई गम्भीर संक्रमण हुने, लामो समयसम्म आइसीयुमा उपचार गर्नुपर्ने, संक्रमणमुक्त भएपछि पनि अक्सिजनको सपोर्ट चाहिने, पटकपटक संक्रमण हुनेजस्ता पोस्ट कोभिड समस्याहरू देखिने गरेको चिकित्सकहरूको भनाइ छ ।
।