सूचनाको शक्ति - The Power Of Information

        

अपराध

एमाले नेता एवं सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

पीडित ती शिक्षिका भन्छिन्, ‘मुद्दा फिर्ता लिन दबाव आयो’

जुम्ला । नेकपा (एमाले)का नेता एवं मुगुका सांसद मोहन बानियाविरुद्ध बलात्कार मुद्धा दर्ता भएको छ । जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएर दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता नं. ३७२ मा बलात्कार मुद्दा दर्ता भएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

ती शिक्षिकाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगन्जस्थित अप्सरा होटलमा बोलाएर आफूलाई दुई पटक बलात्कार गरेको आरोप जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ ।

ती शिक्षिका र सांसद बानियाँबीच लेनदेनको बिषयसमेत रहेको बुझिएको छ । ती शिक्षिकाले त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको दाबी गरेकी छन् । ती शिक्षिकाको स्वास्थ्य जाँचको रिपोर्ट आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसकेको छ । अब अनुसन्धान अघि बढ्छ, हामी थप बुझ्दैछौं ।’

पीडित शिक्षिका भन्छिन्, ‘मुद्दा फिर्ता लिन दबाव आयो’

सांसद बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी ती शिक्षिकाले आफू असुरक्षित महशुस गरेको बताएकी छिन् । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि असुरक्षित महशुस गरेको उनले बताइन् ।

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै ‘भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं । जाहेरी फिर्ता लिनुस्’ भनेको बताउँदै ती शिक्षिकाले भनिन्, ‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन । जे गर्छ कानुनले गर्छ ।’

जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन् । बानियाँका छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन् । साथै बानियाँका अन्य आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै धम्कीसमेत दिइरहेको उनले बताइन् ।

ती शिक्षिकाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ । बानियाँका छोराले तपाईँले जाहेरी दिँदैमा कुनै असर पर्दैन । यस्ता करणीका घटना कैयौं व्यहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’ ती शिक्षिकाले एक साताअघि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनुहुनेछ ।’ यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । प्रदेश सांसद परियारले आफूलाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिनसमेत दबाब दिइरहेको पीडित शिक्षिकाको भनाइ छ ।

जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन् । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौ । भन्दै धम्क्याएका थिए । लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित शिक्षिकाले बताइन् ।

पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले राष्ट्रिय बाणिज्य बैंकको २५ लाख रुपैयाँको चेक दिए पनि उक्त खातामा पैसा थिएन । बाउन्स भएको चेकसमेत सांसद परियारसहितको टोलीले खोसेर लगेको उनले बताइन् ।

सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँसमेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन । सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन् ।

लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेक दिएका थिए । उनले भनिन्, ‘उनले दिएको बैंकमा चेक नसटेपछि मैले नगद मागे ।’ बानियाँले नेपालगन्जमा पैसा लिन बोलाएपछि आएको उनले बताइन् ।

‘नेपालगन्जको अप्सरा होटलको २१५ नम्बर कोठामा बेलुकीसम्म रकम दिने भनेर बस्न बाध्य पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे,’ उनले भनिन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १६:५५