सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न बतास समूह सर्वोच्चमा

काठमाडौं । बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।

‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यतिमात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेका थिए ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसबापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १२:०९