सूचनाको शक्ति - The Power Of Information

        

निगरानी : ट्राफिक प्रहरीको उद्देश्य के होला ?

ट्राफिक प्रहरीको चेकिङ्ग, रकम असुल्न अँध्यारोको सहारा

आम नागरिकको प्रश्न, ‘सडकमा सवारी जाँच बढी हुने लगायतका क्रियाकलापभित्र लुकेको उद्देश्य के होला ?’

फाइल तस्वीर

बाँके । सवारी व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी सडकको चाप अनुसार सक्रिय हुन्छन् । सडक सुशासन कायम गराउने मुख्य जिम्मेवारी ट्राफिक प्रहरीको भएकोले सडकमा हुने हरेक गतिविधिप्रति उसको निगरानी हुनुलाई अन्यथा लिने कुरा पनि भएन ।

सडकमा छड्के जाँच गर्ने, सवारी साधनको अवस्था हेर्ने र त्यस सम्वन्धी कानून कार्यान्वयनमा सहयोग गर्ने उनीहरुको दायित्वभित्रकै कुरा हो । केही दिनअघि नेपालगन्जको धम्बोझी चोकमा अलि अनौठो दृष्य के देखियो । ट्राफिक प्रहरले चेकिङ्ग चलाइरहेको थियो ।

त्यो चेकिङ्ग के का लागि होला ? सडक सुशासन कायम गर्नका लागि भए सडकका खाल्डा पुर्न लगाउँदा हुन्थ्यो । सडक किनारमा थुपारेको निर्माण सामग्री हटाउन लगाउँदा यात्रुहरु सुरक्षित हुन्थे । सडकमा राडर मेसिन राख्नेतर्फ ध्यान दिए धेरैको ज्यान बच्थ्यो ।

सिसि क्यामेरा अपडेट गर्ने र नभएको ठाउँमा राख्नका लागि पहल गरे सुरक्षा व्यवस्थापनमा सुधार हुन्थ्यो । बेलाबेलामा छड्के जाँच गरे कागजपत्र नियमित गर्ने काममा त योगदान पुग्ने नै भयो । तर, त्यसदिनको दृश्य त्यस्तो थिएन । त्यसदिन ट्राफिक प्रहरीको कार्यशैली फरक थियो ।

साँझ छिप्पिसकेको थियो । चोकमा हाइमास्ट बत्तीको उज्यालो थियो । चोकदेखि दक्षिणतिर कृषि विकास बैंकको छेउमा भने अँध्यारो थियो । त्यही अँध्यारोमा रसिद काट्नका लागि भन्दै जनपथ र ट्राफिक प्रहरी गरी तीन चार जना खटिएका थिए भने यतातिर झलमल्ल बनेको धम्बोझी चोकमा जनपथसहित ट्राफिक प्रहरीको ठूलै हुल थियो ।

त्यहाँ ट्राफिक प्रहरीका प्रहरी नायव निरिक्षक सिद्धीबिक्रम शाहले कमाण्ड सम्हालेका थिए । त्यहाँ मोटरसाइकल रोक्ने र कागजपत्र लिएर अँध्यारो (कृषि बिकास बैंकको अगाडी) मा बसेका जनपथ र ट्राफिक प्रहरीलाई बुझाइन्थ्यो । त्यहाँ कागजपत्र लिनका लागि पालोपालो (एक पटकमा एक जना) गइरहेका थिए ।

अँध्यारोमै रसिद काटिथ्यो या रकम असुल गरिन्थ्यो त्यो प्रष्ट देखिँदैनथ्यो । तर, रसिद काट्ने भन्दै अँध्यारोमा बोलाउनुको रहस्य रकम असुली नै थियो भन्ने प्रष्ट हुन्थ्यो । किनकी, सवारी चालकले गल्ती गरेको छ, ट्राफिक नियम पालना नगरेको भए, त्यसवापतको जरिवाना लिनका लागि किन अँध्यारो स्थान रोजियो ?

एक जना सवारी चालकले भने, ‘यता (धम्बोझी चोक) उज्यालोमा रकम लिएको देखिन्छ, त्यसैले ट्राफिक प्रहरीले उता (कृषि बिकास बैंकको अगाडी) अँध्यारोको सहारा लिएको होला ।’ उनले कागजपत्र लिनकै लागि रसिद नै नकाटेर ५०० रुपैयाँ बुझाएको बताए । ‘एक हजार माग्दै थिए, रसिद नकाटेरै ५०० दिएर कागजपत्र लिए,’ उनले भने ।

यो त नेपालगन्जको धम्बोझीमा देखिएको एउटा प्रतिनिधिमूलक घटनामात्रै हो । बाँकेका मुख्य तथा सहायक राजमार्गका विभिन्न जङ्गल र एकान्तमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको छ । ट्राफिक प्रहरी कार्यालयका चेकपोष्ट भन्दा जङ्गल र एकान्तमा गएर चेकिङ्ग गरेर ट्राफिक प्रहरी रकम असुलीमा केन्द्रीत हुने गरेको आरोप छ ।

पूर्वपश्चिम राजमार्गका सम्झना, चप्परगौडी, ढकेरी, सम्शेरगन्ज, अगैया र कुसुम, रत्न राजमार्गको नेपालगन्ज, गनापुर, चिसापानी, बसपार्क, फुलटेक्रा लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कुन बेला कस्तो मुर्गा भेटिन्छ’ भनेर बस्ने गरेको एक जना सवारी चालकले सत्यपाटीलाई बताए ।

नाम नबताउने शर्तमा उनले भने, ‘दुर्घटना न्यूनीकरण गर्नुभन्दा पनि रकम असुल गर्नुनै ट्राफिक प्रहरीको प्राथमिकतामा पर्ने गरेको छ ।’ पछिल्लो समयमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेको बाँकेमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेताना फैलाउनुभन्दा पनि सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउने गरेको नेपालगन्ज–१ का कृष्णबहादुर शाहले बताए । सानो कुरालाई पनि ठूलो बनाएर जरिवाना काट्न खोज्ने र अन्तिममा रसिद नै नकाटेर १००-२०० रकम लिएर छाड्ने गरेको पनि सवारी चालकहरु बताउँछन् ।

सवारी चालकहरु सानादेखि ठूला सबै प्रकारका सवारी साधनहरुबाट ट्राफिक प्रहरीले पैसा असुल्छ । पहिलेदेखिनै यस क्षेत्रमा ट्राफिक प्रहरीले विभिन्न बाहानामा सवारी चालकहरुबाट पैसा असुल्दै आएको एक जना सवारी चालकले बताए । कहिलेकाँही लाइसेन्स ब्लुबुक बोक्न बिर्सेकासँग सोही बाहानामा रसिद नै नकाटेर पैसा लिने गरेको उनको दावी छ ।

ट्राफिक प्रहरीले चालकको लाइसेन्स, सवारीको स्वामित्व किताव आदि जाँच गर्ने प्रचलन नेपालमा बाक्लै छ । बाँकेका विभिन्न स्थानमा हरेक दिनजसो लाइसेन्स र ब्लुबुक देखाउनैपर्छ । प्रश्न गर्दा शान्ति सुरक्षाको लागि हो भन्ने उत्तर आउँछ । अपराध मान्छेले गर्छ कि गाडीले ? कागज ठिक हुनेको व्यवहार ठिक हुन्छ भन्ने सिद्धान्त ट्राफिक प्रहरीकै हो ।

होइन भने हरेक दिन एउटै प्रकृतिको जाँच गर्नुको औचित्य के हो ? आज लाइसेन्स नभएर जरिवाना तिरेको सवारी चालकले एक महिनापछि फेरि जरिवाना तिर्दा ट्राफिकलाई राजश्व आम्दानी त होला, अरु औचित्य केही पुष्टि हुँदैन । सडक दुर्घटना घट्नुको साटो दुर्घटना दिनहुँ बढेको बढ्यै छ ।

आवेदन दिएको वर्षदिन बित्दा पनि लाइसेन्स नविकरण नहुने देशमा लाइसेन्स खोतलेर शान्ति सुरक्षाको औचित्य कसरी पुष्टि होला ? हाम्रो जस्तो ठाउँ जहाँ ट्राफिक संकेतहरुको खास प्रयोग हुँदैन । ट्राफिक संकेतहरु राख्नेतर्फ ध्यान नदिने अनि त्यस्तो ठाउँमा दिनहुँ छड्के र चेकजाँच किन गर्नुपर्यो ? सडकमा सयौं सवारीको लाइन किन लगाउनु पर्यो ?

कहिलेकाँही त ६ लेन सडकमा दुई लेनमा सवारीको लाइन लगाएर जाँच भइरहेको हुन्छ । लाग्छ कि अब यहाँ ‘सवारी दौड’ प्रतियोगिता सुरु हुँदैछ । ट्राफिक अनुशासन कायम गर्ने नाममा दिनहुँ चेकजाँचका नाममा रकम असुली गर्नु, हैरानी दिनु र सबैलाई चोरकोझैं व्यवहार गर्नेतिर मात्रै ट्राफिक प्रहरी केन्द्रीत रहेको देखिन्छ ।

मुख्य कुरा शिक्षा हो । ट्राफिक नियमको पालना सम्वन्धी शिक्षा दिनेतर्फ ट्राफिक प्रहरीले कहिल्यै ध्यान दिँदैन । मानिसलाई स्वअनुशासित बनाउने कुरामा जोड दिन जरुरी छ । साँझ परिसकेपछि मात्रै हुने चेकजाँचले ट्राफिक प्रहरीमाथि पनि आशंका बढाउँछ । आम नागरिकको प्रश्न, ‘सडकमा सवारी जाँच बढी हुने लगायतका क्रियाकलापभित्र लुकेको उद्देश्य के होला ?’

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०९:१२