बाँके । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल बन्द गरिदिएको छ । मिनी क्यासिनो ‘ह्याप्पी आवर’ सञ्चालन गरेबापत सरकारलाई बुझाउनुपर्ने रोयल्टी नबुझाएपछि क्यासिनोसँगै ड्रिमल्याण्ड होटल पनि बन्द गरिएको हो ।
होटल तथा क्यासिनोले आर्थिक वर्ष २०७६/०७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/०७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ ।
पर्यटन विभागको वर्गीकरणमै नपरेको ड्रिमल्याण्ड होटलले २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गरेको थियो ।
लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लामो समयदेखि रोयल्टी, इजाजत नवीकरण दस्तुर नबुझाएरै सञ्चालनमा रहेकोे याक एण्ड यति होटल लिमिटेडलाई क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको छ ।
याक एण्ड यति होटलद्वारा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो ।
क्यासिनोले इजाजतपत्र नवीकरण दस्तुर, रोयल्टी दस्तुर तथा बाँकी बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागको होटल शाखाले होटललाई पठाएको पत्रमा उल्लेख छ ।
भुक्तानीका लागि पटक पटक पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा समेत सार्वजनिक सूचना निकाल्दा पनि नेपाल सरकारलाई सो रकम दाखिला नगरेको भन्दै मन्त्रालयले होटलमाथि कारवाही गरेको जनाएको छ ।
क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्नुका साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको समेत पत्रमा जानकारी गराइएको छ ।
।