सूचनाको शक्ति - The Power Of Information

        

अपराध

पूर्वमन्त्री बानियाँलाई बलात्कारको आरोप, मुद्दा दर्ता गर्न प्रहरीको आलटाल

बाँके । बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ ।

बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । पीडित महिलाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन ।

प्रहरीको ढिलासुस्तीले पीडितमाथि झन पीडा थपेको छ । पीडित महिलाले सांसद बानियाँले आफुलाई बलात्कार गरेको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन् ।

उनले भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने वहालवाला सांसदविरुद्ध जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए ।

पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनुपर्ने हो । तर, अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ ।

प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँचसमेत भइसकेकाले मुद्दा दर्ता हुनेमा आशंका नगर्न पीडितलाई आश्वासन दिएको छ । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने बताए ।

बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छ : पीडित

पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँसमेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन् ।

सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन् । उनले भनिन्, ‘लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेकसमेत दिएका थिए ।’

तर, बैकमा चेक नसटेपछि नगद मागेको ती महिलाले बताइन् । बानियाँले नेपालगन्जमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । नेपालगन्जको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बाध्य पारेको उनले जानकारी दिइन् ।

‘अप्सरा होटलमै बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे,’ उनले भनिन् । बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबाट संघीय सांसद बनेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १८:४४