सूचनाको शक्ति - The Power Of Information

        

कागती खेतीबाट वार्षिक पाँच लाख आम्दानी

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका–१, कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतीबाट वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले ११ वर्षअघि डेढ बिगाह जमिनमा सुरु गरेको कागती खेतीबाट अहिले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी हुन थालेकोमा सन्तुष्टि व्यक्त गरे ।

बाघखोर गाउँ बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेकाले अन्य खेती गर्दा जङ्गली जनावरले नोक्सानी पुर्याउने तर कागती खेतीमा कुनै नोक्नसान नगर्ने भएकाले ओलीले यो खेती सुरु गरेको बताए । अहिले उनको गाउँका अन्यले पनि यही खेतीको सिको गरिरहेका छन् ।

राप्तीसोनारी–१ मा मात्रै हाल आएर करिब १० जनाले कागती खेती सुरु गरिसकेका छन् भने अन्य केहीले पनि खेती गर्ने योजना बनाइरहेका छन् । उत्पादन भएको कागतीले राम्रै बजार पाइरहेको पनि ओलीलाई यो खेतीबाट सन्तोष मिलेको बताउँछन् ।

उनी भन्छन्, ‘एक पटक रोपेको कागतीले २५ वर्षसम्म फल दिन्छ । पहाडमा रोपिने जातको कागती भएकाले तराईमा करिब २० वर्ष फल्ने अनुमान छ । बजारमा ६० देखि १०० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ । एक हजार बिरुवा रोपेकोमा हाल बारीमा ३०० बोट मात्र रहेको उनले बताए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १७:०३