सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा एघारौं पटक हिमपात

हुम्ला । यस वर्ष हुम्लामा एघारौं पटक हिमपात भएको छ । बिहानैबाट मौसम बिग्रीएको भए पनि दिउँसोबाट हिमपात सुरु हुँदा चिसो बढेको हो । स्थानीय नन्द रावतले बुधबार दिउँसोबाट हिमपात सुरु भएको बताए ।

यो हिमपात यस वर्षको एघारौंं पटक भएको बताउँदै चिसो निकै बढेको उनले बताए । चिसो बढेको हुँदा हिउँ जमिनमा जम्न सुरु भएको छ । दिउँसोको तापक्रम माइनस नौ डिग्री सेल्सियसमा पुगेको बताउँदै उनले पटक पटकको हिमपातले जनजीवन प्रभावित भएको बताए ।

चार दिन अगाडि परेको हिउँ नसकिदैन पुनः हिमपात सुरु भएपछि उत्तरी हुम्ला सेताम्मे देखिएको छ । दुई दिन घाम लाग्दा न्यानो महशुस भए पनि स्थानीयलाई पछिल्लो हिमपातले चिसो महशुस भएको छ । हिमपात सुरु भएपछि वनमा चराउन लगिएका पशुबस्तु गोठालाले घर ल्याउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले चिसोले बिहान केही सेवाग्राही आएको भए पनि दिउँसोबाट आउन छोडेको जनाएको छ । प्रशासनले माथिल्लो हुम्लामा २३ भन्दा बढी बस्तीमा हिमपात सुरु भएको र अग्ला स्थानमा बाक्लो हिउँ जम्न थालेको स्थानीयको भनाई छ । हिमपातले चिसो बढेका कारण अघिल्लो हिमपातबाट सञ्चार सम्पर्कबिहीन भएको लिमी हालसम्म सम्पर्कविहिन अवस्थामै छ ।

चिसोले पानीको स्रोत नपुगेको जनाउदै हिल्दु साना जलबिद्युत आयोजनाले बिहानैबाट लोडसेडिङ बढाउँदा सेवाग्राही मर्कामा परेका छन् । खराव मौमस भए पनि बिहान हवाई सेवा सुचारु भएको थियो । तर फेरि भएको हिमपातपछि सो सेवा पनि अवरुद्ध बनेको छ । यसवर्ष हुम्लामा पहिलो हिमपात मंङ्सिर महिनामा भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १६:४०