सल्यान । वागचौर नगरपालिका कोटमौलामा थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुन थालेको छ । अन्य पेशा–व्यवसायमा संलग्नको आकर्षण सुन्तला खेतीमा बढेको छ । कोटमौलाका भरतनाथ योगी पेसाले स्वास्थ्यकर्मी हुन् ।
तर, सुन्तला खेती उनको प्राथमिकता हो । सुरुमा रहरले दुई–चार बोट लगाएका योगीले हाल ४४ रोपनीमा व्यवसायिक सुन्तला खेती गरेका छन् । उनले यो वर्ष चार सय क्वीन्टल सुन्तला बिक्री गरेर ३० लाख रुपैयाँ कमाई गरे ।
यस्तै नेकपा एमालेका सल्यानका पूर्वअध्यक्ष लोकबहादुर डाँगीले राजनीतिसँगै व्यवसायिक सुन्तला खेती गरेका छन् । करिब ७०० बोट सुन्तला छन् । यो वर्ष मात्र उनले सुन्तला बिक्री गरेर १० लाख कमाइ गरेका छन् ।
वागचौर नगरपालिका ८ र ९ का २५० किसानले अन्नबाली लगाउन छोडेर सुन्तला खेती गरेका छन् । देववहादुर डाँगीले १० रोपनी जग्गामा सुन्तला खेती गरेका उनले यो वर्ष ७ लाख रुपैयाँको सुन्तला बिक्री गरे । सुन्तला ७५ रुपैयाँ केजी घरमै बिक्छ ।
कोटमौला क्षेत्रबाट १४ करोड बराबरको सुन्तला निर्यात भएको छ । पछिल्लो समय कृषिसँगै अन्य पेशामा आबद्ध व्यक्ति पनि सुन्तला खेतीमा संलग्न भएको पाइएको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले जानकारी दिए ।
सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थानलाई सुन्तलाको पकेट क्षेत्र मानिन्छ । जिल्लामा झण्डै एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।












।