सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् सोमबार बसेको मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृति, निर्वाचनको मिति घोषणा, क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका ११ निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ ।

सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनीक नेपाली महावाणिज्यदुतहरूको अवधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमाभित्र परेका तीन वटा घरटहराको राहत स्वरूप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले सरकारले बालअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धी १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताउनुभयो ।

सरकारका प्रवक्ता कार्कीले सरकारले नसर्ने रोगहरूकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १८:२०