सूचनाको शक्ति - The Power Of Information

        

हिमपात र हुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

काठमाडौं । हवाईमार्गबाट गोसाइँकुण्ड जाने तीर्थयात्रु हिमपात र हावाहुरीका कारण प्रभावित भएका छन् ।

हेलिकप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकप्टर कम्पनीहरूले जनाएका छन् ।

एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ ।

सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकप्टर कम्पनीले आइतवारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।

दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ । डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताउनुभयो ।

धार्मिक मान्यताअनुरूप जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरेर हेलिकप्टर कम्पनीले उपलब्ध गराएको पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ ।

विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ । पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवम् गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन् । यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रवार र शनिवार परेको हिउँ भने पग्लिँदै गएको छ ।

समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताउनुभयो । होचो ठाउँका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भइ पशु आहारमा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १०:५५